सूचनाको शक्ति - The Power Of Information

        

म्यानमारमा सैन्य कू : सेनाद्वारा फेरि इन्टरनेट सेवा बन्द, विरोध जारी

काठमाडौं । निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको म्यानमारको सेनाले विरोधलाई दबाउनका लागि इन्टरनेट सेवामाथि प्रतिबन्ध लगाउने क्रम जारी राखेको छ । लगातार दोस्रो रात (मंगलबार) पनि अधिकांश क्षेत्रमा सेनाले इन्टरनेट सेवा अवरुद्ध गरेको हो ।

बेलायतमा आधारित अनुगमन संस्था नेटब्लक्सका अनुसार स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे (नेपाली समय अनुसार (सोमबार राति सवा १२ बजे) देखि इन्टरनेटमा म्यानमार सेनाले लगभग पूर्ण प्रतिबन्ध लगाएको उल्लेख गरेको छ ।

फेब्रुअरी १ मा सेनाले नेतृ आङ साङ सूकीसहितका निर्वाचित नेतालाई गिरफ्तार गरि सत्ता हातमा लिएपछि चौथो पटक लगभग पूर्ण रुपमा इन्टरनेटमा प्रतिबन्ध लागेको हो । सेनाले सञ्चारमाध्यमहरुका अनलाइन संस्करणमा पनि सर्वसाधारणको पहुँचमा रोक लगाएको छ ।

सैन्य कू विरुद्ध लगातार सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहित प्रदर्शनमा उत्रिएपछि सेनाले इन्टरनेट सेवा बन्द गर्नेसहितका उपाय अपनाएको हो ।

यस्तै प्रमुख शहरहरुमा सेनाले हतियारले सुसज्जित बख्तरबन्द गाडी तैनाथ गरेको छ । सेनाको तैनाथी बढे पनि प्रदर्शन भने रोकिएको छैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार ०७:५१