सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना खोपको दोस्रो डोज ८ देखि १२ हप्तापछि मात्रै

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो डोज पहिलो डोज लगाएको ८ देखि १२ हप्तापछि मात्रै लगाउने तयारी गरेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज खोप लगाउने बताएको थियो । तर पहिलो खोप लगाएपछि जति ढिलो दोस्रो डोज लगायो त्यतिधेरै शरीरमा एन्टिबडी निर्माण हुने अनुसन्धानहरूले देखाइरहेको हुँदा ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने गरी सरकारले तयारी अघि बढाएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा अन्तरगत खोप शाखा प्रमुख डा.झलक गौतमका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसन्धानले पहिलो डोज लगाएपछि दोस्रो डोजको समयान्तर धेरै राखेर लगाउँदा शरीरमा एन्टिबडी बलियो बन्ने बताएको हुँदा आवश्यक तयारी गरेर दोस्रो डोज ८ देखि १२ हप्तामा लगाउने निर्णय गरिने बताए । उनले भने ‘यस अघि दोस्रो डोज २८ दिनपछि लगाउने भनिए पनि दोस्रो डोज भ्याक्सिन अलि ग्यापमा लगाउँदा एन्टिबडी झनै राम्रो हुने रिपोर्टहरु बाहिर आएको हुँदा हामीले ८ देखि १२ हप्तामा लगाउने गरी तयारी गरेका छौँ ।’

खोप लगाउँदैमा कोरोना नहुने होइन तर भइहाले गम्भीर असर गर्दैन

खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा.श्यामराज उप्रेती कोरोनाविरुद्धको अहिले नेपालमा लगाइ रहिएको कोभिशिल्ड खोप लगाउँदैमा कोरोना संक्रमण हुँदैन भन्न नसके पनि खोप लगाएपछि कोरोना संक्रमण भएमा गम्भिर असर नगर्ने बताउँछन् । उनले भने, ‘खोप लगाएपछि कोरोना लाग्दै लाग्दैन भन्न सकिँदैन । किन भने खोप नै नयाँ छ । यसको बारेमा अनुसन्धान हुनै बाँकी छ तर खोप लगाएपछि कोरोना संक्रमण भएमा गम्भिर अवस्थामा पुर्याउँदैन र कोरोनाबाट हुने मृत्युदर तथा अस्पताल भर्ना हुनुपर्ने दर पनि घटाउँछ ।’

डा.उप्रेतीका अनुसार खोप लगाएपछि यदी शरिरमा कोरोना भाइरस भए पनि त्यसले आफूलाई असर नगरे पनि अरुलाई सर्ने सम्भावना धेरै हुने हुँदा खोप लगाएकाहरुले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताए । सरकारले गत माघ पहिलो साता भारतको सिरम कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप चरणवद्ध रुपमा लगाइरहेको छ ।

सरकारलाई भारतले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको हो । सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनर गरी ४ लाख ३० हजार जनालाई खोप लगाउने निर्णय गरेको थियो । तर एक लाख ८७ हजार जनाले मात्रै खोप लगाएपछि बाँकी खोप अहिले युएन एजेन्सी, कूटनीतिक नियोग, पत्रकार, निजामति कर्मचारीले लगाइरहेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १५:५५