सूचनाको शक्ति - The Power Of Information

        

पुरुषबाटै पुरुष बलात्कार, दुई जना पक्राउ

भद्रपुर । देशभर महिला बलात्कृत हुँदै गरेको घटना सार्वजनिक भइरहेको बेला झापामा पुरुषबाटै पुरुष बलात्कार भएको घटना बाहिरिएको छ । कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिबार बेलुका ७ बजे दुई जना पुरुष मिलेर एक पुरुषलाई बलात्कार गरेको घटना बाहिरिएको हो ।

कनकाई–७ का ३० वर्षीय पुरुष अप्राकृतिक यौन क्रियाकलापमा परी सख्त घाइते भएका छन् । उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ का २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अप्राकृतिक यौन क्रियाकलापमा संलग्न दुबैलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडका राखिएको जिल्ला प्रहरी कार्यालय डिएसपी राकेश थापाले जानकारी दिए । घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरे पनि घाइतेका तर्फबाट उजुरी नपरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार ११:२१