सूचनाको शक्ति - The Power Of Information

        

भागरथी हत्या प्रकरण

लवलेक जङ्गलमा प्रहरीको सर्च अपरेशन, क्लोज रिङमा चार जना आशंकित

काठमाडौं । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन बिते पनि अपराधी भने पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी आफै १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चोकीमा बसिरहेका छन् । अनुसन्धानमा आफै खटिएर कमाण्डरको भूमिका निभाइरहेका डिआइजी सुवेदी दिनभर प्रहरी चौकीमै हुन्छन् ।

प्रत्येक समय अनुसन्धान अधिकारीसँग रिपोर्टिङ लिइरहेका हुन्छन् । अनि आफूले पाएको सूचना र प्रगतिबारे प्रहरी महानिरीक्षक, प्रदेश सरकार र गृह मन्त्रालयसमेतलाई जानकारी गराइरहेका हुन्छन् । कञ्चनपुरकी निर्मला पन्त घटनासँग धेरै कुरामा मिल्दोजुल्दो यो घटनालाई निर्मला पन्त प्रकरण बन्न नदिने अठोट गरेका डिआइजी सुवेदी प्राविधिक विश्लेषण र फरेन्सिक रिपोर्टपछि अपराधी पक्राउ पर्ने विश्वासमा छन् ।

तर मोबाइल, सामाजिक सञ्जाल आदिसँग सम्बन्धित प्राविधिक विश्लेषण र प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आउनुु पर्ने भेजाइनल स्वाब लगायतका प्रमाणहरुको रिपोर्ट नआउञ्जेलसम्म तत्काल थप केही गर्न नसक्ने भए पनि प्रहरी चुपचाप बसेको भने छैन । कुनै समय एकजना प्रहरी सहायक निरीक्षक (सई)को नेतृत्वमा केही सङ्ख्याका प्रहरी रहने खोचलेक प्रहरी चौकी अहिले दैनिक ६० भन्दा बढी प्रहरी अधिकृतहरुको रिपोर्टिङको केन्द्र बनेको छ ।

अहिले दोगडाकेदार गाउँपालिका ७ मा रहेको प्रहरी चौकीमा रहेको थोत्रो भवनमा डिआइजीसहितका प्रहरी टोली बसिरहेका छन्, कारण भागरथीको बलात्कारपछि हत्यामा संलग्न अपराधी कुनै पनि हालतमा उम्कन नपायोस् । यतिबेला खोचलेकमा ६० जनाभन्दा बढी सादा पोसाकका प्रहरी अनुसन्धानका लागि खटिएका छन् । तीमध्ये अधिकांश अधिकृतस्तरका प्रहरी छन् र दिनरात नभनी काम गरिरहेका छन् ।

केहीदिन अघिमात्रै प्रहरीले लवलेक जङ्गलभरी आफ्नो सर्च अपरेशन चलायो । उक्त स्थानमा पुुग्न सकिने सबै सहायक बाटो तथा जङ्गलका प्रत्येक क्षेत्रमा सर्च गर्यो । त्यही क्रममा प्रहरी टोलीले भागरथीको मोबाइलको ब्याट्री र चाउचाउको खोल बरामद गरेको छ । यी दुई प्रमाण पनि अनुसन्धानका लागि प्रयोग भइरहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सहितको टोलीले केही दिनअघि फेरि पूरै जङ्गलमा सर्च अपरेशन चलाएको थियो ।

कुनै नयाँ प्रमाण पाइन्छ कि भनेर सिआईबी टोलीले जङ्गलको चक्कर काटेको थियो । भागरथी आफ्नो विद्यालयबाट निस्केको समय अर्थात् पौने २ बजेपछिको प्रत्येक समयको प्रहरीले सुक्ष्म विश्लेषण गरिरहेको छ । विद्यालयबाट निस्केर खोचलेक बजारमा चाउचाउ किनेकी भागरथीको त्यसपछिको प्रत्येक पलपलको सुक्ष्म विश्लेषणमा प्रहरी जुटेको छ । उक्त दिन बजारमा रहेका प्रत्येक व्यक्तिको विवरण संकलन, क्लोज रिङ, मोबाइलको लोकेशन आदि विषयमा प्रहरी विश्लेषण गरिरहेको छ ।

चार जना प्रहरीको क्लोज रिङमा

बैतडीमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार अहिले प्रहरीले चार जनाको क्लोज रिङ तयार पारेको छ । अपराधी ती चार जनामध्ये एकजना हुनुपर्ने निष्कर्षमा प्रहरी पुुगेको छ । किनभने ती चार जना आशंकित सबैको कनेक्सन खोचलेक बजारसँग जोडिएको छ ।

उक्त दिन उनीहरुमध्ये केही खोचलेक बजारमा देखिएका थिए, केहीले मदिरासमेत सेवन गरेका थिए र एक जनाको बिगत पनि त्यति राम्रो देखिएन थिएन । र, अनुसन्धानको क्रममा ती चार जनामध्ये दुई जनाको प्राविधिक विश्लेषण गर्दा उनीहरु अपराधमा संलग्न भएको हुनसक्ने धेरै तथ्य र प्रमाणहरु पाइसकिएको प्रहरीले जनाएको छ ।

‘केही दिनमै अपराधी सार्वजनिक हुँदैछ’ : प्रदेश प्रहरी प्रवक्ता सिंह

भागरथी भट्टको बलात्कारपछि हत्या भएको १३ औँ दिन पुुग्दा पनि अपराधी पक्राउ गर्न नसक्नुले यो घटना पनि निर्मला पन्त प्रकरणजस्तै अपराधीको पहिचान पुष्टी गर्न नसक्ने हो कि भनेर चिन्ता जनाइरहँदा सुुदूूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुुकेशकुुमार सिंह भने अपराधी केही दिनमै सार्वजनिक हुने ठोकुुवा गर्छन् ।

सिंहले भने, ‘हामी यसपटक शंकितलाई पक्राउ गरेर अनुसन्धान गर्ने पक्षमा छैनौँ । पहिले हामी प्रमाण सङ्कलन गरिरहेका छौँ र अपराध पुष्टि भइसकेपछि मात्रै अपराधीलाई पक्रने पक्षमा छौँ । त्यसकारण केही ढिला भएको सत्य हो । तर हामी अपराधीको धेरै नजिक पुगिसकेका छौँ र केही दिनमै अपराधी सार्वजनिक गर्नेछौँ ।’

तर प्रहरीले निर्मला प्रकरणमा पनि अपराधीको नजिक पुुगिसकेको मात्रै भन्ने गरेको आधारमा यो पनि त्यसैको निरन्तरता त होइन भन्ने प्रश्नमा उनले भने, ‘म केही निश्चित आधार र प्रमाणका आधारमा यो भनिरहेको छु कि अपराधीको करिब–करिब पहिचान भइसकेको छ । अब मात्रै त्यसलाई पुष्टी गर्न थप केही प्राविधिक विश्लेषण र फरेन्सिक रिपोर्ट कुर्नुपर्ने हुनसक्छ । त्यसकारण मैले साता पनि नभनेर केही दिन भनेको हुँ ।’

यतिबेला प्रहरीले शंकित व्यक्तिहरुको क्लोज रिङ बनाएर क्लोज मनिटरिङ गरिरहेको बताएको छ । ती व्यक्तिहरु जिल्ला वा क्षेत्र छोड्न लागेमा पक्राउ समेत गर्ने गरी तयारी भइरहेको छ । यद्यपि सुरुमै पक्राउ गरेर अनुसन्धान गर्नुभन्दा अनुसन्धान सकेर पक्राउ गर्ने पक्षमा प्रहरी रहेको छ ।

काठमाडौँबाट एक पक्राउ, प्रमाण नपुगेपछि छाडियो

त्यसो त प्रहरीले काठमाडौँबाट केही दिन पहिले नै एक व्यक्तिलाई पक्राउ गरेको थियो । घटनामा प्रत्यक्ष संलग्नता नभए पनि घटना वा परिस्थितिका बारेमा जानकार हुनसक्ने भन्दै उनलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो । ती व्यक्ति धनगढीबाट काठमाडौँ पुगेलगत्तै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । तर घटनामा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार ११:०५