कैलाली । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा बाघको आक्रमणबाट २५ बर्सिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जङ्गलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेर लगेको थियो ।
बाघले लगेको ठाउँभन्दा केही पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । पछिल्लो केही दिनयता कैलालीमा बाघको आक्रमण बढ्न थालेको छ । ३० माघमा कैलारी गाउँपालिकामा पनि एक व्यक्तिलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।
पूर्व पश्चिम राजमार्गको कैलाली खण्ड अन्तरगत पर्ने गौरीगंगा नगरपालिकाको राजीपुर र बडैपुरबीचको जंगलमा शनिवार साँझ करीव ७ बजे बयस्क बाघ देखिएको थियो । राजमार्ग पार गर्दै दक्षिणबाट उत्तरतर्फ जादै गरेको बाघको तस्वीर त्यही मार्ग भएर पूर्वतर्फ जाँदै गरेका यात्रुले कैद गरेका थिए ।
यसअघि शुक्रवार बिहान बाघको आक्रमणबाट कैलारी–८ दुधियाका २७ वर्षीय दुर्गा चौधरी घाइते भएका थिए । बिवाह प्रयोजनका लागि सालको पात टिप्न गएका बेला चौधरीमाथि बाघले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
।