सूचनाको शक्ति - The Power Of Information

        

आज १४ फेब्रुअरी

‘भ्यालेन्टाइन डे’, प्रेम प्रगाढ बनाउने अवसर

काठमाडौं । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यसवर्ष कोरोना महामारीका कारण विश्वमा भ्यालेन्टाइन डेको पछिल्ला वर्षहरुमा जस्तो उत्साह छैन ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । ‘विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ ।

जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ ।

प्रेम व्यक्त गर्ने सामान किन्न यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । राजधानीको खिचापोखरीस्थित हलमार्कका बिक्रेता रुपेश कार्की वर्ष दिनमा सबैभन्दा बढी व्यापार यसै बेला हुने बताउँछन् । यस्ता पलसमा रातो गुलाब तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, पफ्र्युम, चकलेट जस्ता सामान बढी बिक्री हुने पाइएको छ ।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भयो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे । आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए ।

झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतवार ०७:४५