सूचनाको शक्ति - The Power Of Information

        

भागरथी हत्या प्रकरण

१० दिनदेखि भागरथीको शव अस्पतालमै

प्रहरी अनुसन्धान तेस्रो चरणमा

कैलाली । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा बलात्कारपछि मारिएकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरण अनुसन्धान तेस्रो चरणमा पुगेको प्रहरीले जनाएको छ । दायरा फराकिलो बनाएर अनुसन्धान थालेको बताएको प्रहरीले अहिले तेस्रो चरणमा व्यक्तिलक्षित अनुसन्धान भइरहेको जानकारी दिएको हो ।

यो अनुसन्धान धेरै लामो नजाने सुदूरपश्चिम प्रदेश प्रहरीले दाबी गरेको छ । भागरथीको हत्या प्रकरण अनुसन्धान प्रकृयामा थुप्रै व्यक्तिलाई जोडिएको र तीमध्ये केही ‘क्लोज सर्भिलेन्स’मा रहेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । तिनै व्यक्तिहरूमध्ये कसैले भागरथीलाई बलात्कारपछि हत्या गरेको निश्कर्ष नजिक नजिक प्रहरी पुगेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘अनुसन्धान भइरहेको छ, भागरथीसँग सम्पर्कमा रहेका व्यक्तिहरूको कल रेकर्ड डिटेल पनि निकाल्दैछौं ।’ भागरथीसँग रहेका ३ वटा सिमकार्डहरूबाट भएका फोन र त्यसमा सम्पर्कमा आएका व्यक्तिहरू प्रहरीको निगरानीमा छन् । घटना भएको दिन साथीहरूबाट छुट्टिएपछि भागरथी एक्लै जंगलबाट बाटो हुँदै घर आएको अनुसन्धानले देखाएको छ ।

फर्किने क्रममा कोही व्यक्ति उनको पछि लागेको र उसैले बलात्कार गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । भागरथीको हत्यापछि भेटिएका भौतिक प्रमाणहरू परीक्षण गर्न राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । शंकास्पदहरूको गतिविधि भेरिफाई गर्ने, सोधपुछ र स्क्रिनिङ गर्ने काम भइरहेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् ।

उनको हत्यामा एक वा धेरै व्यक्ति संलग्न छन् भन्नेबारे प्रहरी अझै अन्योलमै छ । कसैले सहयोगी भूमिका निर्वाह गरेको हुनसक्ने प्रहरीको बुझाइ छ । भागरथीको हत्या भएको १० दिन भइसकेको छ । उनको शव जिल्ला अस्पताल बैतडीमा छ । आफन्तले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका कारण चाँडै अपराधी पत्ता लगाउन प्रहरीमाथि दबाब परिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार १२:४६