सूचनाको शक्ति - The Power Of Information

        

झन्डै एक दर्जन बढी सचिव सरुवा

काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिव सरुवा भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । अख्तियारमा श्रम मन्त्रालयका सचिव तोयम रायलाई लगिएको छ ।

श्रम मन्त्रालयको सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई पठाइएको छ भने उद्योग मन्त्रालयको उद्योग सचिवमा प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई लगिएको छ ।

यस्तै, वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छ भने लोकसेवा आयोगमा प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई लगिएको छ।

यता, खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई भूमि मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।

शिक्षा सचिव गोपीनाथ मैनाली, निर्वाचन आयोगकी देवकुमारी गुरागाई तथा भूमिसुधार मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई भने सार्वजनिक खरिद अनुगमन, वित्त आयोग एवं खेलकुद मन्त्रालय मध्येमा सरुवा व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ११:००