सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आज २६ औं जनयुद्ध दिवस मनाइँदै, छिन्नभिन्न पूर्वमाओवादी

काठमाडौं । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ । विसं.२०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२/०६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

जनयुद्ध शुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ (हाल बारपाक सुलिकोट गापा-८) मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए । त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो ।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भइसकेको छ ।

शीर्ष नेतृत्व नै तितरवितर भइसकेका छन् । प्रचण्ड नेतृत्वमा रहेको माओवादी पार्टी र साविक नेकपा एमालेबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टीमा अहिले दरार उत्पन्न भएको छ । जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा.बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीको अध्यक्ष भएका छन् ।

मोहन वैद्य ‘किरण’ले नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन् । विप्लवको पार्टीलाई भने वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ०९:३१