सूचनाको शक्ति - The Power Of Information

        

भागरथी हत्या प्रकरण

हामी अनुसन्धान नजिक छौं, दोषी उम्कन पाउने अवस्था छैन : डीआइजी सुवेदी

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको एक हप्ता बितिसकेको छ । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआइबी)देखि जिल्ला र प्रदेशका प्रहरी जनशक्ति दोगडाकेदारमा खटिएको छ ।

भागरथी हत्यासम्बन्धी प्रहरीले विशेष सूचना हात पारेको र अनुसन्धानको दायरा साँघुरो बनेको प्रहरीको दाबी छ । गएको छ दिनदेखि आफैँ अनुसन्धानको कमान्ड सम्हालिरहेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीसँग अनुसन्धान प्रक्रियाको प्रगतिबारे गरिएको कुराकानी :

भागरथीको हत्या भएको एक हप्ता बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । कहिलेसम्ममा पत्ता लाग्छ ?

– म फिल्डमा आउँदा दोगडाकेदारमा आन्दोलन भइरहेको थियो । दुई दिनपछि आन्दोलनरत पक्षसँग समन्वय गरेर प्रहरीलाई सघाउन अनुरोध गर्यौँ । प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाए पनि समाजका मान्छे कोही केही पनि नबोल्ने समस्या देखियो । त्यसपछि हामीले समुदायस्तरमै समन्वय गरेर अनुसन्धान अघि बढाउँदा बल्ल यहाँका स्थानीयवासी खुलेर बोल्न थालेका छन् ।

अहिले स्थानीयवासीले पनि असाध्यै राम्रो सहयोग गरिरहनुभएको छ । सुरुको अनुसन्धानको दायरा फराकिलो थियो । अहिले अनुसन्धान निकै साँघुरो भएको छ । डीआईजी नै यसरी आफैँ घटनास्थलमा बसेर अनुसन्धान गरेको यो पहिलो घटना पनि होला । प्रहरीले विशेष सूचना र जानकारी प्राप्त गरिसकेको छ । दोषी छिट्टै पत्ता लाग्छ ।

अनुसन्धानमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरियो । प्रहरीको विज्ञ टोली एक हप्तादेखि घटनास्थलमै छ । दोषी पत्ता लाग्न ढिलाइ हुनुको कारण चाहिँ के हो ?

– प्रहरीले अहिलेसम्म पत्ता लगाएको कुरा अहिले नै सार्वजनिक गर्न मिल्दैन । अहिले यति भनौँ, प्रहरीले सफलता हासिल गर्नेछ । अनुसन्धानमा सुरुदेखि कुनै पनि कसर बाँकी नराखेर सजगताका साथ प्रहरी अघि बढेको छ । अर्को निर्मला प्रकरण बन्न दिदैनौं ।

घटनास्थल सिलबन्दी गर्नेदेखि लिएर भेजाइनल स्वाब सङ्कलन गर्न डाक्टरको टोली घटनास्थलमै पुग्यो । तालिम प्राप्त कुकुर पनि परिचालन गर्यौँ । कुकुरले मोबाइल पत्ता लगायो तर त्यो दिन पानी परेका कारण कुकुरलाई केही कठिनाइ भयो । कुकुरले गर्न सक्ने काममा केही बाधा पुग्यो ।

भागरथीको भेजाइनल स्वाबको फरेन्सिक रिपोर्ट कहिलेसम्म आउँछ ?

– भेजाइनल स्वाबको रिपोर्ट आउन १५ दिनदेखि एक महिनासम्म लाग्छ । पोस्टमार्टम रिपोर्टले धेरै कुरा बताइसकेको छ । त्यसका आधारमा हामीले अनुसन्धान अघि बढाएका छौँ । अहिलेसम्मको अनुसन्धानले हामी सफलता नजिक पुगेका छौँ ।

अनुसन्धानका क्रममा स्थानीय सरकार र राजनीतिक दलको सहयोग कत्तिको मिलेको छ ?

– उहाँहरू सबैले सहयोग र समन्वय गरिरहनुभएको छ । पीडित परिवारका सदस्यले पनि अनुसन्धानमा सकेजति सहयोग गरिरहनुभएको छ । हाम्रोतर्फबाट हुने अनुसन्धानमा सुविधा सम्पन्न ठाउँमा जे जति प्रहरी जनशक्ति र प्रविधिको प्रयोग हुन्छ, दोगडाकेदारमा पनि हामीले त्यही स्तरको अनुसन्धान अघि बढाएका छौँ । ठाउँ यस्तै छ, प्रहरी चौकीको भवन देखिहाल्नुभयो । रात–दिन नभनी हामीले अनुसन्धान तीव्ररूपमा अघि बढाएका छौँ । दोषी उम्कन पाउने अवस्था छैन ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ०९:१२