सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

सकियो सम्झौता, बनेन अवलघाट पुल

फाइल तस्वीर

बाँके । सम्झौता समय सकिएको छ महिना बिते पनि बाँकेको खजुरामा निर्माण गर्ने भनिएको पुल निर्माण अझै अलपत्र परेको छ । बाँकेको खजुरा गाउँपालिका–३, किरण नालाको अवलघाटमा पुल निर्माण गर्ने भनी गजुरमुखी कन्स्ट्रक्सन प्रालि इलामले सम्झौता गरेकामा अझै पुल निर्माणको काम सकिएको छैन ।

२०७७ असार १६ मा उक्त पुलको निर्माण सम्पन्न गर्ने भनी गजुरमुखी कन्स्ट्रक्सन प्रालि इलामले २०७४ फागुन १७ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौता गरेको म्याद सकिएर छ महिना बितिसक्दा पनि अझै पुल निर्माणको काम नै सुरु नगरिएको स्थानीयवासीले बताएका छन् ।

पुल निर्माणका लागि स्थानीयवासीले दबाब दिँदा केही दिन काम सुरु गरेकोजस्तो देखाउने र त्यसपछि पुनः काम बन्द गर्ने गरिएको स्थानीय कृष्णप्रसाद पराजुलीले बताए । उनले सम्झौताको म्याद सकिएको छ महिनापछि अहिले दबाब बढाइएकाले पुनः काम सुरु गरेकोजस्तो देखाउन केही मजदुर राखेर पुलको जाली बनाउने काम थालिएको बताए ।

पुल नहुँदा वर्षामा बढी र अन्य समयमा समेत सो क्षेत्रका बासिन्दालाई आवागमनमा निकै समस्या हुँदै आएको स्थानीयवासीको दुःखेसो छ । पुल निर्माणमा ढिलाइले गर्दा स्थानीयवासीलाई आवागमनमा वर्षामा सबैभन्दा बढी समस्या हुने गरेको भए पनि सम्बन्धित निकायको ध्यान नगएको अर्का स्थानीय जीवन थापाले बताए ।

उनले निर्माणमा ढिलाइ गरिँदा त्यहाँ खसालिएका छड (सरिया)हरूमा खिया लागिसकेको बताए । थापाले स्थानीयवासीले पटकपटक निर्माण कम्पनीका तर्फबाट आधिकारिक व्यक्ति भरत शाहलाई जानकारी गराउँदा पनि वास्ता नगरेको बताए । उता गजुरमुखी कन्स्ट्रक्सन प्रालि इलामका प्रतिनिधि भरत शाहले भने लकडाउनका कारण काम रोकिएको जनाए ।

उनले अहिले पुल निर्माण कार्य तीव्ररूपमा भइरहेकाले केही महिनामै निर्माण पूरा हुने पनि बताए । सोबारेमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतीसँग जानकारी माग्दा उनले उक्त पुल केन्द्र सरकारले बनाउन लगाएको हुँदा सोबारेमा आफूलाई जानकारी नभएको बताउँदै निर्माण समयमा किन पूरा भएन सोधपुछ गरिने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ०९:०१