सूचनाको शक्ति - The Power Of Information

        

अपराध

कोहलपुरबाट बालिका बेपत्ता हुने क्रम बढ्यो

बाँके । पछिल्लो समयमा बाँकेको कोहलपुरबाट बालिका हराउने क्रम बढेको पाइएको छ । माघ महिनामै दुई बालिका बेपत्ता भएपछि प्रहरीले सोबारेमा विशेष तरिकाले अनुसन्धान गरिरहेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर विकासनगर–२ बस्ने १४ वर्षीया उषा बीसी माघ ५ देखि र कोहलपुर–१२, चप्परगौडी बस्ने १६ वर्षीया रेणुका अधिकारी माघ २५ देखि बेपत्ता रहेको निवेदन परेको छ ।

दुवै बालिका बेपत्ता भएकाले खोजी गरिदिन भनी परिवारका सदस्यहरूले निवेदन दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालले बताए । उनले ती दुवै बालिकाका बारेमा विशेष तरिकाले खोजबिन र अनुसन्धान भइरहेको जनाउँदै तीमध्ये एक भारत र एक काठमाडौँ पुगेको हुनसक्ने आशङ्का गरिएकाले सोहीअनुसार खोजतलास गरिरहेको बताए ।

कोहलपुरमा अपराध नियन्त्रणका लागि स्विप अपरेसन जारी गर्नुका साथै बिहीबारबाट बालबालिकालाई सचेत पार्न तथा आपराधिक व्यक्ति र गतिविधिबाट टाढा राख्न एकहप्ते लुक्स जुनियर भन्ने विशेष अभियान सुरु गरिएको पनि डीएसपी खनालले बताए । स्कुल जान्छु भनेर घरबाट निस्किएकी १४ वर्षीया बीसी २४ दिन बित्दा पनि अझै घर नफर्किएपछि उनका आफन्त चिन्तामा छन् ।

अर्की बालिका अधिकारी डान्स कक्षामा जान्छु भनी घरबाट निस्किएर गत ६ दिनदेखि हराइरहेको हुँदा उनको परिवार पनि चिन्तामा डुबेको छ । प्रहरीले ती बालिकाका आफन्त र साथिभाइ सबैसँग सोधपुछ गरेर उनीहरूका बारेमा पत्ता लगाउने कार्य गरिरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

देशका विभिन्न स्थानमा बालिका बलात्कार र हत्या गर्ने जस्ता घटना भइरहेकाले हराएका बालिकाका परिवारले झन् चिन्ता बढाएको बताएका छन् । यसैगरी बाँकेकै राप्तीसोनारी गाउँपालिका–२, खोरियाका हेमराज खत्री पनि माघ १६ बाट एक्कासी बेपत्ता भएको खबर आएपछि उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ०८:४६