सूचनाको शक्ति - The Power Of Information

        

रामकुमारी झाँक्री पक्राउ प्रकरण

राष्ट्रपतिविरुद्ध के भनेकी थिइन् रामकुमारीले ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाँक्री आज पक्राउ परेकी छिन् । प्रहरीले उनलाई शंखमूलस्थित निवासबाट पक्राउ गरेको हो । झाँक्रीले गत माघ १७ गते गोरखाको सिरान्चोक गाउँपालिकास्थित चित्रेपोखरीमा आयोजित विरोध सभामा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि टिप्पणी गरेकी थिइन् ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भूल भएको झाँक्रीको भनाइ थियो । सो कार्यक्रममा राष्ट्रपतिलाई बडामहारानीको संज्ञा दिएकी थिइन् । सोही विषयमा उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत दफा ४८ अनुसार प्रहरीले पक्राउ गरेको हो ।

यस्तो छ, चित्रेपोखरीमा झाँक्रीले दिएको अभिव्यक्ति

राष्ट्रपतिका कुरा त के गर्ने । बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, अस्ति निर्वाचन आयोगको प्रतिवेदनको दिन । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु । निर्वाचनको तयारीका लागि कार्गेड छाडेर, सुख सुविधा ऐस आराम शीतल निवास छोडेर पहिला कोटेश्वर आउनुस् । चाबहिल कि बानेश्वर कता बसाइ छ भन्ने सुनेको थिएँ । होइन भने बालकोटै गए हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईसँग म पनि अलि भारी हुन्छ होला । यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं । तपाइँका लागि म पनि भारी हुन सक्छु ।

त्यसकारण बडा महारानीले हामीले प्राप्त गरेका, संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्धे दृष्टी लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टी फेर्नका लागि गरिएको असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन । त्यसकारण नेकपा एमालले २०५० सालमा गरेको भूल थियो । यहाँ अन्यथा नहोस् । तमामा दिदी बहिनी हुनुहुन्छ । सहिद परिवार हुनुहुन्छ । यहाँहरुलाई भन्न खोजेको होइन । मदन भण्डारीको हत्या पछाडी सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत साँस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालले त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी । आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सहि हुनुपर्ने रहेछ ।

धरानमा हामीले चुनाव हार्नुको पछाडिको कारण पनि त्यही हो । धरानमा मेयरचाहीँ बिरामी भएर बित्नुभो । मेयरको श्रीमतीलाई टिकट नदिएको भनेर भोट हालेनन् । त्यहाँ कांग्रेसले जित्यो । सेन्टीमेन्टको, इमोशनल ब्लाकमेलको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ । राजनीति विचारधाराकै गर्नुपर्दो रहेछ । त्यसकारण जब विचार सिद्धिन्छ । कपाल देखाएर, नाक देखाएर छाला देखाएर लुगा देखाएर राजनीति गरिन्छ नि, पुग्ने त्यहीँ हो । त्यसबाट आउने चिज पनि त्यही हो । गलत काम गरेकै कारण । नारायणकाजी कमरेडलाई पनि थाहा छ । दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाउँ भनेर सचिवालयका सबै नेताहरुको घरमा देउसी खेल्न गएको हामी । उहाँहरुले कानमा तेल हाल्नुभो । त्यतिन्जेलसम्म उहाँहरुको विद्या भण्डारीले केही बिगारेको थिइनन् । हाम्रो पनि त केही बिगारेको थिएन । अब थाहा पाउनुभयो । त्यसकारण हामी दुरदर्शी थियौं भन्ने प्रमाणित भयो नि । सबै नेताकोमा गएको हामी । एउटै सेरमोनियल पदमा एउटै मान्छे दोहोर्याइ तेहेर्याइ किन राख्ने ?

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १५:४२