सूचनाको शक्ति - The Power Of Information

        

रामकुमारी झाँक्री पक्राउ प्रकरण

नेकपाले भन्यो, ‘आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम’

झाँक्री पक्राउपछि युवा नेताहरु आक्रोशित, सरकारलाई झ्यालखानाको संख्या बढाउन काँग्रेस नेता गगन थापाको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रहरीले झाँक्रीलाई उनको निवासबाट पक्राउ गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै नारायणकाजी श्रेष्ठले लोकतन्त्रमा कोही पनि व्यक्ति आलोचनाभन्दा बाहिर हुन नसक्ने बताएका छन् ।

झाँक्रीलाई पक्राउ गरिनु पूर्वाग्रह भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन,’ विज्ञप्तिमा भनिएको छ ।

नेकपा झाँक्रीको पक्राउले आश्चार्यचकित भएको विज्ञप्तिमा जनाइएको छ । ‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै झाँक्रीलाई पक्राउ गरिएको भन्दै प्रचण्ड-नेपाल समूहको नेकपाले गिरफ्तारीले वर्तमान सरकार घोर अलोकतान्त्रिक भएको पुष्टि भएको दावी गरेको छ । ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

 

यता नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएपछि युवा नेताहरुले आक्रोश व्यक्त गरेका छन् । नेकपा प्रचण्ड नेपाल समूह र नेपाली कांग्रेसका नेताहरुले राष्ट्रपतिको आलोचना गरेकोमा झाँक्रीलाई पक्राउ गरिनु प्रधामन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘महाराज’ प्रवृति भएको बताएका छन् ।

नेता विष्णु रिजालले झाँक्री प्रकरणबाट राष्ट्रपति भण्डारी पदका लागि अयोग्य पात्र रहेको पुष्टि भएको बताएका छन् । उनले ट्वीट गर्दै आलोचना गर्नेमाथि मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्ठ भएको बताएका छन् । झाँक्रीको पक्राउको विरोधमा नेपाली काँग्रेसका नेता गगन थापाले पनि विरोध गरेका छन् ।

उनले राष्ट्रपति महाराज भएको टिप्पणी गर्दै सरकारलाई झ्यालखानाको संख्या बढाउन सुझावसमेत दिएका छन् । उनले सरकारले देखाएको त्रासले आफूहरुको मुख बन्द नहुने बताएका छन् । यस्तै, योगेश भट्टराईले पनि झाँक्रीलाई पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । उनले राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई आलोचित बनाएको बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर्न सुझाव समेत दिएका छन् । योगेशले प्रहरीको पक्राउले रामकुमारी झाँक्री अझै स्थापित नेता हुने टिप्पणी गरे । झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर गरेको भन्दै घरमै गएर पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १४:४६