काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पार्टी कार्यालय परिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ नेपाल केन्द्रीय समिति राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन् ।
प्रहरीले झाँक्रीलाई हिजो नै पक्रन खोजेपनि आफूहरुको जड बलले पक्राउ गर्न नसकेको उनको दाबी थियो । ‘पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो । हामीले नपक्रन जोड गरेका थियौं । तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा पक्राउ गरेको भन्नेछ,’ प्रचण्डले भने, ओलीले हाम्रा नेतालाई पक्राउ गर्न सुरु गरेकाले त्यसविरुद्ध आन्दोलन सशक्त बनाउँछौं ।’
‘उनीहरुले कहाँ प्रहार गर्न खोजेको छ त्यो त देखियो नी। लोकतन्त्र माथि ताला लगाउने काम भएको छ,’ उनले भने । झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर गरेको भन्दै घरमै गएर पक्राउ गरेको थियो । नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रचण्ड–नेपाल समूह अहिले छलफलमा जुटेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकरी दिएका छन् ।
सापकोटाका अनुसार प्रचण्ड–नेपाल समूहले झाँक्रीलाई तत्काल रिहा गर्न अथवा सशक्त आन्दोलन गर्ने विज्ञप्ती जारी गर्ने तयारी गरेको छ । झाँक्रीलाई प्रहरीले पक्राउ गर्दा प्रचण्ड–नेपाल भने पार्टी कार्यालय पेरिसडाँडाको एक कार्यक्रमा थिए । उनी पक्राउबारे पार्टीमा अहिले आन्तरिक छलफल भइरहेको छ । ‘अध्यक्षहरुले विज्ञप्ती निकाल्नुहुन्छ । उहाँको पक्राउबारे बुझिरहनुभएको छ,’ उनले भने ।
।