सूचनाको शक्ति - The Power Of Information

        

झाँक्री पक्राउ प्रकरण

मैले बनाएकै सरकारबाट म गिरफ्तार भए : रामकुमारी झाँक्री

अभियोग प्रमाणित भए सात वर्ष कैद सजाय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले आफू संसदीय दलको सदस्य भएको र सरकार बनाएको पार्टीको सरकारले नै आफूलाई गिरफ्तार गरेको टिप्पणी गरेकी छन् ।

प्रहरीले पक्राउ पूर्जी थमाएपछि घरबाटै गिरफ्तारी दिनुअघि समर्थकहरूलाई सम्बोधन गर्दै नेत्री झाँक्रीले भनिन्, ‘जुन पार्टीमा म आवद्ध थिएँ, जुन पार्टी संसदीय दलको म सदस्य थिएँ, त्यही दलबाट निर्वाचित प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमले गर्दा संविधानमाथि बलात आक्रमण भएको छ ।’

कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेको भए पनि फेरि लड्नुपर्ने अवस्था आएको झाँक्रीले बताइन् । ‘सात दशक लामो क्रान्तिको इतिहासमा धेरै कुरा प्राप्त गर्यौं भन्ने लागेको थियो । चुनावमा कम्युनिस्ट पार्टीले स्प्ष्ट बहुमत पनि ल्याएको थियो ।’

प्रतिगमनको विरुद्ध सडकमा संघर्षरत रहँदै गर्दा न्यायप्रेमी जनसमुदायलाई संगठित गर्ने अभियानमा व्यक्त गरेका विचारका आधारमा केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले राज्य विरुद्धको कसूरको पक्राउ पूर्जी जारी गरेको उनले बताइन् ।

‘कानूनको परिपालन गर्ने नागरिक भएका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु,’ उनले भनिन्, ‘राज्यको आदेश तामेल गर्ने सन्दर्भमा आएका प्रहरीहरूलाई धन्यवाद दिन चाहन्छु ।’ यसअघि महानगरीय अपराध महाशाखाका डीएसपी सुधीर शाहीले निवासभित्रै पुगेर झाँक्रीलाई पक्राउ पूर्जी थमाएका थिए ।

गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’

नेत्री झाँक्रीमाथि प्रहरीले निगरानी गरेको समाचार प्रकाशित भएपछि बुधवार काठमाडौंमा आयोजित सभामा पनि झाक्रीले सार्वजनिक पदमा बसेको व्यक्तिको लिंग (महिलारपुरुष) नहुने भन्दै विरोधमा बोल्न पाइने बताएकी थिइन् । झाँक्रीले बुधवारको सभामा भनेकी थिइन्, ‘कार्यकारी प्रधानमन्त्रीको एसिस्टेन जस्तै एउटा कोठामा बसेर निरंकुशताको साक्षीको पात्रको विरुद्ध बोल्न पाइन्छ । एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? एउटा अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । कुनै पदमा लिंग हुँदैन सार्वजनिक पदको हो ।’

त्यसअघि नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेत्री झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो । गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

ज्ञापन पत्रमा राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै नेत्री झाँक्रीले विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकाले कानूनबमोजिम कारबाही गर्न माग गरिएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्ने सांसदहरूमध्ये नेत्री झाँक्री पनि एक हुन् । रिट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको छ ।

अभियोग प्रमाणित भए सात वर्ष कैद सजाय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले शंखमुलस्थित निवासबाटै पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर राज्यविरुद्धको कसूरमा अनुसन्धानका लागि झाँक्रीलाई पक्राउ गरिएको उनलाई थमाइएको पक्राउ पूर्जीमा उल्लेख छ ।

‘राजविरुद्धका कसूरअन्तर्गत दफा ५८ को कसूरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले यो पूर्जी जारी गरिएको छ,’ झाँक्रीलाई थमाइएको पक्राउ पूर्जीमा भनिएको छ । मुलुकी अपराध संहिताको राज्यविरुद्धका कसूरअन्तर्गत दफा ५८ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ ।

‘कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमले बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन,’ दफा ५८ को उपदफा (१) मा भनिएको छ ।

उपदफा (२) मा कारवाहीसम्बन्धी व्यवस्था छ । ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ,’ उपदफा २ मा भनिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १३:४८