सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा बालबालिकालाई सचेत पारिँदै

बर्दिया । पछिल्लो समय बर्दियासहित देशैभरि बाल हिंसा, साइबर अपराध तथा दुर्व्यसनीका घटना बढ्दै गएका छन् । यस्ता घटनामा कमी ल्याउन विद्यालयस्तरका बालबालिकालाई सचेत बनाउनुपर्ने आवश्यकता औँल्याउदै बर्दियामा बालबालिकाहरूलाई सचेतीकरण गर्न थालिएको छ ।

समाज सुधारमा सक्रिय बनेका युवालाई संगठित गर्दै आएको विकासप्रेमी युवा समूह बर्दियाले अहिले बालबालिकालाई सचेत पार्न थालेको छ । सुरक्षा निकाय ताथ विद्यालयसँग सहकार्य गरी बाल हिंसा, साइबर अपराध तथा दुर्व्यसनीका कारण पर्न जाने हानि तथा कानुनी उपचारका विषयमा सचेत गराएको विकास प्रेमी युवा समूहका अध्यक्ष गोपाल निरौलाले बताए ।

उनले भने, ‘देशमा बलात्कार हत्यालगायत घटनाहरू बढ्दो क्रममा छन् । बालिकाहरू, विद्यालय, समाज तथा घर कहीँ पनि सुरक्षित नदेखिएको अवस्थामा उनीहरू सुरक्षित हुने एकमात्रै उपाय आफैं सचेत हुने हो । त्यसकारण आफ्नो सुरक्षा आफैं गर्न बालिकाहरू सक्षम हुनुपर्छ ।’

बलात्कार हत्या, हिंसा,साइबर अपराधमा धेरैजसो युवा नै पर्ने भएकाले यो समस्या अन्त्यका लागि पनि अब युवा समूह नै सक्रिय हुनुपर्ने उनले बताए । कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत बालिकाहरू बढीजसो यस्ता घटनामा सिकार भएकाले उनीहरूलाई आफ्नो सुरक्षाका लागि सचेत रहन आग्रह गरिएको छ । यस्तै इन्टरनेटको पहुँचमा रहेका बालबालिकाहरू साइबर अपराधको सिकार हुने भएकाले यसबारे समेत उनीहरूलाई सचेत गराइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १०:५४