सूचनाको शक्ति - The Power Of Information

        

च्याउ खेतीबाट आत्मनिर्भर बने गौतम

रुकुम(पूर्व) । सिस्ने गाउँपालिका–७, नाथिगाडका एक व्यक्ति च्याउ खेतीबाट आत्मनिर्भर व्यवसायतर्फ अग्रसर हुन लागेका छन् । ‘गौतम च्याउ खेती’ फर्म दर्ता गरी सिस्ने–७ नाथिगाडका चन्द्रप्रसाद गौतम च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गरेका हुन् ।

वि.सं. २०७५ सालदेखि गौतमले नाथिगाडमा बाह्रैमास परालको मुरामा च्याउ खेती गरिरहेका छन् । २० मिटर लम्बाइ र २.५ मिटर चौडाइको एक टनेल निर्माण गरी एक चरणमा १०० वटा परालको मुराबाट च्याउ उत्पादन गरी ३० देखि ४० हजार रुपैयाँ हाराहारी मासिक आम्दानी गरिरहेको गौतमले बताए ।

उक्त टनेल निर्माणसहित च्याउ उत्पादन निम्ति चाहिने सामग्री खरिदमा डेढ लाख रुपैयाँमात्र खर्च भएको उनले जानकारी दिए । गर्मी समयमा ३२ दिनमा च्याउ तयार भएर ६५ दिनसम्म एक चरणको च्याउ उत्पादन गर्ने समयावधि हुने गरेको छ । हिउँद याममा ढिलो च्याउ उम्रन र हुर्कन समय लाग्ने भएकोले डेढ महिनासम्म एक चरणको अवधि हुने गरेको गौतमले बताए ।

एक चरणमा लगाइएको परालको मुराबाट ४ देखि ६ पटकसम्म च्याउ उत्पादन हुने गरेको छ । उनले उत्पादन गरेको च्याउ घरबाटै प्रतिकिलो १९० रुपैयाँमा बिक्री भइरहेको छ । अन्य ठाउँमा बोकेर बिक्री गर्दा प्रतिकिलो २०० रुपैयाँ मूल्य तोकेका छन् । तर, हालसम्म उत्पादन भएका सबै च्याउ घरैबाट बिक्री भइरहेको उनले जानकारी दिए । गौतमले गाउँपालिका कृषि शाखाबाट ७० हजार रुपैयाँ अनुदानसमेत पाएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १०:५०