सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटनको मुद्दामा सरकारी पक्षको बहस आज सकिने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा भोलिसम्ममा बहस सक्न समय दिएपनि भोलि सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले आजै बहस सक्न लागिएको हो ।

बहस गर्ने समय नपाउने भएपछि हिजो प्रधानमन्त्री ओलीको पक्षबाट इजलासमा पुगेका दर्जन बढी कानुन व्यवसायीले इजलासमा आफ्नो नाम टिपाएका थिए ।

हिजो वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, अन्जन न्यौपाने, माधवकुमार बस्नेत, रमेश गुरागाईं, श्रीधर पुडासैनी, देवी रेग्मी, कृष्णकुमार आङ्दम्बे, विजयप्रसाद मिश्रलगायतले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्नुभयो ।

यसअघि प्रतिनिधिसभा विघटनविरुद्धका १३ वटा रिट निवेदकका पक्षबाट ७२ जना कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।

सरकारी पक्षको बहस गत माघ १९ गतेदेखि सुरु भएको थियो । सरकारी पक्षको बहस सकिएपछि सभामुख अग्नी सापकोटाका कानुन व्यावसायीको बहस बााँकी छ ।

त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहसपछि पाँच वरिष्ठ अधिवक्ता रहेको एमिकस क्युरीले आफ्नो राय राख्नेछ ।

फागुन पहिलो साताभित्र बहस सक्ने र फैसला लेखनमा केही दिन लाग्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १०:१४