बैतडी । छोरीको गोली हानी हत्या गरेर फरार रहेका बुवालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पुर्चौडी नगरपालिका-१० विजयपुरका ६५ बर्षीय धनबहादुर महरा रहेका छन् ।
महरालाई दोगडाकेदार गाउँपालिका ८ माल्लेकबाट बिहान ९ बजे पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनक धामीले जानकारी दिनुभयो । महरालाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरी निरीक्षक हरिशरण भट्ट नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ गरेका महराले माघ २४ गते माइतमा बस्दै आएकी २० बर्षीया छोरी बेलमती महरा (धामी)लाई गोली हानी हत्या गरेका थिए । सोही दिनदेखि फरार रहेका महरालाई प्रहरीले आज माल्लेकबाट नियन्त्रणमा लिएको हो ।
गोली हानी फरार रहेका महराले सोही राती आफ्नो अर्को घरमा आगजनी पनि गरेका थिए । घरमा दुइवटा श्रीमती रहेको र कान्छी श्रीमतीसंग घरायसी विवाद हुँदा छोरीले बिचमा बिवाद साम्य पार्न खोज्दा महराले छोरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।
हत्या गरिएकी बेलमती विवाहित हुन् । बेलमती केही दिनदेखि माइतमा बस्दै आएकी थिइन् । मृतक बेलमतीको शव परीक्षण गरि आफन्तलाई बुझाइएको छ ।
पक्राउ परेका महराले प्रयोग गरको भरुवा बन्दुक भने फेला नपरेको प्रहरीले जनाएको छ । महरालाई कर्तव्य ज्यान मद्दा र हतियार खरखजना अन्र्तगतको मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
।