काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारतको ‘कोभिशिल्ड’ खोप देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको जानकारी दिनुभयो ।
जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।
मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसंख्याको तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो ।
खोप अभियान हिजो सम्पन्न भएको छ । पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयको तयारी छ । सरकारले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने जनाएको छ ।
भारतले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । चीनले पनि पाँच लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यता कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने खोपमध्ये पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा अक्सफोर्ड र अष्ट्राजेनेकाको खोप तीन साता भित्र आइपुग्ने मन्त्रालयले जनाएको छ ।
कोभ्याक्सले चार चरणमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निःशुल्क उपलब्ध गराउने छ ।
।