बाँके । नेपालगन्जस्थित भूमिसुधार तथा मालपोत कार्यालयका सेवा सुविधालाई सहज र सुलभ बनाउन भन्दै टोकन प्रणाली लागू गरिएको छ तर सेवाग्राहीले भने यसबाट झन् समस्या बढेको गुनासो गरेका छन् । टोकन प्रणाली लागू गरिएपछि सेवाग्राहीलाई पालो आउन एक साताभन्दा बढीको समय लाग्ने गरेको र टोकन लिन जाँदा चार/पाँच दिनपछिको मात्र टोकन पाइने गरेकाले काममा ढिलाइ भइरहेको सेवाग्राहीको भनाइ छ ।
जग्गा पास गराउन मालपोत कार्यालय पुगेका डुडुवा कम्दीका नरेश यादवले अत्यधिक भीडका कारण आधा दिनपछि टोकन पाउने ठाउँमा पुगेको र पाँच दिनपछिको टोकन पाएकाले काममा विगतको भन्दा झन् ढिलाइ भएको बताए । उनले यसअघि आउँदा एक दिन वा बढीमा दुई दिनमा सबै काम हुने गरेकामा अहिले एक साता कुर्नुपर्ने अवस्था आएकाले सेवाग्राही झन् समस्या झेल्न बाध्य भएको बताए ।
यस्तै जग्गाको कामले मालपोत कार्यालयमा पुगेका नेपालगन्ज राँझाका दीपक थापाले पनि टोकन सुरु गरिएपछि कार्यालयको काम झन् अस्तव्यस्त भएको गुनासो गरे । टोकन लिएर विभिन्न फाँटमा पुग्दा कर्मचारीले काममा खासै ध्यान नदिएकाले ढिलाइ भइरहेको उनले दाबी गरे । यस्तै प्रकारको गुनासो यहाँस्थित लेखापढी व्यवसायीले पनि गरेका छन् । बिचौलिया हटाउने नाममा गरिएको टोकन प्रणालीले झन् सर्वसाधारणले दुःख पाइरहेको लेखापढी सङ्घ बाँकेका अध्यक्ष जगदम्बा पाठकले बताए ।
उता भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका निमित्त प्रमुख अमरराज सेजुवालले टोकन प्रणाली लागू गरेर नयाँ व्यवस्थापन गर्दा केही ढिलाई हुने भए पनि पहिलो आउनेले पहिलो पालो पाउने गरेको बताए । उनले सुरुमा केही समस्या आए पनि पछि बिस्तारै समाधान हुँदै जाने र सबै अभ्यस्त पनि हुँदै जाने बताए । सो कार्यालयमा बिचौलियाको बिगबिगी भएको र रकम नलिएर कुनै काम नहुने गरेको गुनासो सेवाग्राहीबाट आएपछि प्रशासनले टोकन प्रणाली सुरु गरेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बिचौलियाको प्रवेश निषेध गरेर हेल्प डेस्क स्थापना गर्दै माघको पहिलो साताबाट टोकन प्रणाली लागू गरेका थिए । मालपोत कार्यालयबाट प्रवाह हुने सेवालाई पारदर्शी, सहज र छिटो छरितो बनाउन टोकन प्रणाली लागू गरिएको जनाउँदै त्यसमा देखिएका कमीकमजोरी हटाएर सेवालाई सहज र सुलभ बनाइने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।
।