सूचनाको शक्ति - The Power Of Information

        

मौसम

काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, दिउँसोको समयमा गर्मी बढ्ने

तराईका केही जिल्लामा भने केही दिन चिसो

काठमाडौँ ।  हिमपातका कारण अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा चिसो छ ।  हिजो काठमाण्डौसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो ।

काठमाण्डौ उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ ।  मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ ।

सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीवार, शुक्रवारदेखि नै हिमपात सुरु भएको थियो । पश्चिमी वायुको प्रभावका कारण हिमपात र केही ठाउँमा हल्का वर्षा भएको मौसमविद्ले बताएका छन् ।

आज काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँकाअनुसार अब केही दिन उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ । तर, अहिले बाक्लो हिमपात भएको ठाउँ र तराईका केही जिल्लामा भने केही दिन चिसो नै हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतवार ०८:१९