सूचनाको शक्ति - The Power Of Information

        

साइकल यात्रा

पर्यटन प्रवद्र्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके । बाँके र बर्दियामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ ‘टुर दी ठाकुरद्वारा’ नामक साइकल यात्रा शुक्रबारदेखि सुरु भएको छ ।

नेपालगन्जको प्रसिद्ध वागेश्वरी मन्दिरबाट सुरु भएको साइकल यात्रा बर्दियाको कर्णाली नदी, बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा हुँदै बासगढीस्थित केदारेश्वर धाममा पुगेर आइतबार दिउँसो समापन हुने भएको छ ।

नेपालगन्ज साइक्लिङ क्लब र नाट्टा बाँकेको संयुक्त आयोजनामा सुरु भएको साइकल यात्रामा नेपाली र भारतका गरी करिब १५० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज साइक्लिङ क्लबले तीन वर्षदेखि लगातार ‘टुर दी ठाकुरद्वारा’ साइकल यात्रा सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि पर्यटन बोर्ड तथा बाँके र बर्दियाका स्थानीय तहको साथ रहेको छ ।

पर्यावरणको संरक्षणका लागिसमेत साइकल चलाउनु हितकारी भएकाले नियमित साइकल सञ्चालनका लागि अभिप्रेरित गर्न नेपालगन्ज साइक्लिङ क्लबले विभिन्न खालका साइकल यात्रा सञ्चालन गर्दै आएको छ । साइकल यात्रामा विश्व साइकलयात्री पुष्कर शाहसहित विभिन्न जिल्लाका युवाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार ०९:२६