सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा विघठन

सभामुखले भने, ‘संसद् बैठक बोलाउने विषयमा परामर्श गरिरहेको छु’

संविधानको मर्म जोगाउन संवैधानिक परिषद्को नियुक्ति अस्वीकार

काठमाडौंं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक बोलाउने या नबोलाउने भन्ने विषयमा आवश्यक परामर्श गरिरहेको बताएका छन् । संवैधानिक परिषद्का विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्तिमाथि सर्वोच्च रिट दायर गरेर फर्केपछि पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन् ।

‘संसद बैठक बोलाउने विषयमा धेरै कुरा आइरहेको छन् । सबै संवैधानिक क्षेत्र र अंगहरूमा बुझिरहेको छु । त्यस बिषयमा गम्भीरता पूर्वक विचार गर्नुपर्छ,’ उनले भने, ‘अरु संस्था प्रमुख र मेरो आचरणको बिषयमा तपाईहरुले थाहा पाउनु भएको छ । म सत्यको अन्वेशण गर्दैछु । म परामर्श गरिरहेको छु ।’ संसद बैठकको बिषयमा आवश्यक परामर्श लिएर निर्णय लिने बताए ।

संवैधानिक परिषद्को आफूलाई चिठ्ठी आउनुभन्दा पहिल्यै बैठक बसिसकेको उनले बताए । ‘संवैधानिक कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आफैँमा सार्वभौम अधिकार हुन्छ । अरु सदस्यहरुसँग प्रधानमन्त्रीले पटक पटक गृहकार्य गरेको मैले सुचना पाइरहेको छु,’ उनले भने, ‘तर, मसँग एकपटक पनि गृहकार्य भएन । संविधानको मर्म र भावना अनुसार नियुक्ति हुन नसक्ने भएपछि मैले प्रधानमन्त्रीलाई फोन गरेर भनेको हुँ ।’

असंवैधानिक रुपमा भएको प्रधानमन्त्रीको नियुक्तिमा सहमति नजनाएको उनले बताए । संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रीपरिषद् विस्तारपछिको शपथ ग्रहण कार्यक्रममा राष्टपति कार्यालयबाट निम्ता आएको भएकाले गएको स्पष्टिकरण दिए । संवैधानिक परिषद्को नियुक्ति असंवैधानिक भएकाले संविधानको मर्म जोगाउन शपथ कार्यक्रममा नभएको बताए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १५:५६