सूचनाको शक्ति - The Power Of Information

        

सुकीलाई तत्काल रिहा गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको निर्देशन

एजेन्सी । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र गिरफ्तार गरिएका सबैलाई तत्काल रिहा गर्न म्यानमारको सेनालाई निर्देशन दिएको छ ।

राष्ट्रसंघद्वारा जारी विज्ञप्ति अनुसार, सबै सदस्य राष्ट्रले म्यानमारमा घोषणा गरिएको संकटकाल र सुकीलगायत नेतालाई गरिएको गिरफ्तारीप्रति गहिरो चासो र चिन्ता व्यक्त गरेका छन् ।

यस पटक सुकीका पक्षमा चीन र रुसले पनि वक्तव्य दिन सहमति जनाएका छन् । जुन बिरलै हुने घटना मानिन्छ । मंगलबार नै बसेको सुरक्षा परिषद्को बैठकपछि सैनिक कूविरुद्ध वक्तव्य निकाल्न खोज्दा चीनले नमान्दा रोकिएको थियो ।

सुरक्षा परिषद्का सदस्यहरूले म्यानमारको प्रजातान्त्रिक प्रक्रियाको निरन्तरतामा जोड दिँदै प्रजातान्त्रिक संस्था र प्रक्रियाहरु पालना गर्न, हिंसा हुन नदिन, मानव अधिकारको पूर्ण रूपमा सम्मान गर्न, स्वतन्त्रता र कानूनी शासन बहाल गर्न भनेका हुन् ।

म्यानमारका नागरिक समाज, पत्रकार र मिडियाकर्मीहरूमाथि लगाइएका प्रतिबन्धप्रति पनि सदस्य राष्ट्रहरुले चिन्ता व्यक्त गरेको अध्यक्ष बारबरा वुडवार्डले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान) र त्यसका अध्यक्षले फेब्रुअरी १ मा निकालेको वक्तव्यलाई स्वागत पनि गरेका छन् ।

सुकीलाई तत्काल रिहा गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको निर्देशन, चीन र रूसको पनि समर्थन

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १४:०४