सूचनाको शक्ति - The Power Of Information

        

सभामुखको रिट निवदेनको पेशी आइतबारलाई तोकियो

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति बदरको माग गदैै सभामुख अग्नि सापकोटाले दायर गरेको रिट निवेदनमा आइतबारका लागि पेशी तोकिएको छ ।

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मुख्यसचिव शंकरदास वैरागी र संवैधानिक निकायमा नियुक्त ३२ जनासहित ३९ जनालाई विपक्षी बनाइएको रिट निवेदनमा सुनुवाइका लागि अदालतले माघ २५ गते बिहान १० बजेका लागि पेशी तोकेको हो ।

सभामुख सापकोटासहितका दाहाल–नेपाल समूहका नेकपा नेताहरू शुक्रबार अदालत पुगेर ३९ जनालाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेपछि सभामुख सापकोटाले निवेदन दर्ता गर्नुभएको हो ।

गत ३० मंसिरमा बैठक बस्न कोरम नपुगेपछि सरकारले अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले त्यही साँझ बोलाएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभाागी हुनुहुन्थ्यो भने सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गर्नुभएको थियो ।

संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो । तर सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर नियुक्ति दिइएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १४:०२