सूचनाको शक्ति - The Power Of Information

        

हिमपातले बझाङको जनजीवन प्रभावित, विद्युत् सेवा अवरुद्ध

बझाङ । मौसममा बद्ली भएसँगै बझाङ जिल्लाका विभिन्न क्षेत्रमा हिमपात भएको छ । जिल्लाको बुङगल नगरपालिका, जयपृथ्वी नगरपालिकाको उच्च भूभाग छविसपाथीभेरा, तल्कोट, साइपाल, मष्टा, खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिका लगायतका क्षेत्रमा बिहीबार राति हिमपात भएको हो । माघको अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको हो ।

गएरातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको वित्थडचिरका स्थानीय अम्विका विष्टले बताइन् । हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ । हिमपातले बाहिर निस्कन मुस्कील भएको बुंगल नगरपालिका– ३ का मानबहादुर धामीले बताए ।

चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समस्या भएको स्थानीयले बताएका छन् । वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका हुन् । हिमपातले विभिन्न रोगकिरा नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टेकबहादुर विष्टले बताए । हिमपातका कारण आंशिकरुपमा टेलिफोन, यातयात र विद्युत सेवा प्रभावित भएको छ ।

बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थली लगायतका ठाँउहरुमा बाक्लो हिमपात भएका कारण बझाङ भित्रने सावरी साधनहरुलाई सकस भएको छ । बादलले सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिकरुपमा प्रभावित भएको छ । हिजो रातिदेखि बझाङमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बझाङले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १०:०७