सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीविरुद्ध नारा लगाउन किन रोके दाहालले ?

काठमाडौं । आफ्नो समूहले आयोजना गरेको आमहडताल कार्यक्रममा सहभागी हुन नेकपा-दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान ललितपुरको पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाललगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न नारा लगाउँदै उनीहरु सडकमा बसिरहेका थिए ।

दाहाल पनि त्यही हुलमा थपिए र दाँया हातलाई तल माथि उचालदै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाले । नेकपाकै एक कार्यकर्ताले नारा लगाइरहेका थिए । दाहाल, भुसाल, रिजालसहितका नेताले कहिले मूर्दावाद र कहिले जिन्दावाद भनिरहेका थिए । उद्घोषण गरिरहेका ती कार्यकर्ताले अर्को नारा लगाए, ‘एमसीसी चाहिँदैन’ ।

एमसीसीको विरोधमा नारा लागेपछि दाहाल झस्किए र भुसाललाई अहिलेको समयमा उक्त नारा लगाउनु ठिक नभएको संकेत गरिहाले । उनी त्यतिमा रोकिएनन्, आफैले नयाँ नारा पनि दिए । उनले उद्घोषकलाई इंगित गर्दै प्रतिगमनविरुद्ध जस्ता नारा लगाउन सल्लाह दिए । उद्घोषकले तत्काल माने पनि ।

तर केही समयपछि नै उद्घोषकले उही नारा होदोर्याइहाले ‘एमसीसी चाहिँदैन’ । अन्य नेता कार्यकर्ता समर्थन गर्दै भने ‘चाहिँदैन’ । ‘चाहिदैन’ । दाहाल भने उद्घोषकले उक्त नारा लगाउनेबितिकै मुन्टो तल झारेर चुप लागे । त्यसपछि उद्घोषकले फेरि नारा चर्काए, ‘एमसीसी चाहिँदैन’, ‘देश बेच्न पाइँदैन ।’

हादाल भने कुनै पनि नारा नलगाइकन आफूलाई ढिलो भएको संकेत गर्दै सुरुआतमा भुसाल र त्यसपछि अन्य नेतासँग बिदा मागेर हिँडे । दाहालसँगैं आन्दोलनमा सहभागी नेता विष्णु रिजालले यो आन्दोलन एमसीसी वा अरु कुनै पनि एजेन्डाविरुद्ध नभएकाले अध्यक्ष दाहालले पहिले नै तयार गरेका नारा लगाउन भनेका बताए ।

रिजालका अनुसार आन्दोलनका निर्धारित नारा थिए । दाहालको सचिवालयले बताए अनुसार बिहीबारको आन्दोलन संविधानमाथि भएको ‘कु’ को विरोधमा रहेको बताए । उहाँले संविधानमाथि भएको घातका विषयमा केन्द्रित गरेर आन्दोलन गर्न भन्नुभएको हो । ‘अहिले अन्य विषय अप्रसांगिक विषयमा नबोल्न भन्नुभएको हो’, ती सदस्यले भने ।

एमसीसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत र सडक पूर्वाधार निर्माणका लागि करिब ५५ अर्ब सहयोग दिने गरी सन् २०१७ मा नेपाल सरकार र अमेरिकी सरकारबीच सम्झौता भएको थियो । सम्झौताअनुसार नेपालले उक्त सहयोग प्राप्त गर्न नेपालको संसदबाट अनुमोदन गर्नुपर्ने हुन्छ । कान्तिपुर

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार ०६:५३