सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना सङ्क्रमित शून्य जिल्ला बन्दै बाँके

फाइल तस्बीर

बाँके । नेपालगन्जस्थित भेरी कोभिड अस्पतालमा उपचार गराइरहेका २३ जना सङ्क्रमित निको हुन बाँकी रहेका छन् । तीमध्ये १८ जनाको अवस्था गम्भीर रहेको छ । सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड वार्ड बन्द गरिएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अहिले भेरी विशेष कोभिड अस्पतालमा २३ जना मात्र सङ्क्रमित भर्ना रहेकोमा १८ जनाको अवस्था गम्भीर रहेको बताए । उनले सङ्क्रमित घट्दै गएपछि कोहलपुरको कोभिड वार्डलाई अस्थायी रूपमा बन्द गरिएको जनाए ।

उनले पाँच जना सङ्क्रमितको अवस्था सामान्य रहेकोले उनीहरूलाई छिट्टै घर पठाइने र सिकिस्त रहेकाहरूको सबै विधि अपनाएर उपचार भइरहेको जनाए । कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किने क्रम तीव्र भएको र नयाँ थपिने क्रम घटेकोले केही दिनमै बाँकेलाई कोरोना सङ्क्रमित शून्य जिल्ला बनाइने आशा उनले व्यक्त गरे ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा हालसम्म ४४ हजार ८०५ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार ६२८ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने चार हजार ५२९ जना सङ्क्रमणमुक्त भई घर फर्किसकेका छन् । जिल्लामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार ०६:२७