सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा अस्पताल सञ्चालन

उपचार गर्न भारत जानुपर्ने बाध्यता हट्यो

बाँके । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा निर्माण गरिएको अत्याधुनिक भवनमा अस्पताल सञ्चालन गरिएपछि सो क्षेत्रका बासिन्दाले सहजरूपमा उपचार पाउन थालेका छन् । नरैनापुरको लक्ष्मणपुरमा सञ्चालनमा रहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई अत्याधुनिक भवनमार्फत सेवा सुचारु गरिएपछि पहिलो पटक त्यहाँ चिकित्सक पठाइएको छ ।

उपचारका लागि पनि सीमापारी भारतीय क्षेत्रमा पुग्ने गरेका उक्त क्षेत्रका बासिन्दाले अहिले सहजरूपमा आफ्नै गाउँस्वास्थ्यमा समृद्धिठाउँमा उपचार पाउन थालेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । उनले केही समय पहिलेसम्म उपचारका लागि भारत वा नेपालगन्ज जानुपर्ने बाध्यता रहेकोमा अब क्रमशः सो बाध्यता समाप्त हुँदै गएको बताए ।

सो स्वास्थ्य केन्द्रले दैनिक सयभन्दा बढी बिरामीलाई सेवा दिइरहेको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.सागर पन्तले जानकारी दिए । उनका अनुसार चिसोमा सय जनासम्म बिरामी दैनिक आइरहेका छन् भने गर्मीमा डेढ सयभन्दा बढी आउने अनुमान छ । उक्त स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.पन्तले ल्याब सेवालाई पनि विस्तार गर्ने तयारी गरिरहेको बताए ।

उनले चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको बताए । १५ शैय्याको अस्पताल बनेपछि यहाँका नागरिकहरूले ठूलो सेवा पाउने उहाँको भनाइ छ । प्रत्येक स्थानीय तहलाई आधारभूत स्वास्थ्य अस्पताल बनाउने सरकारको लक्ष्यअनुसार नरैनापुर गाउँपालिकाले यो केन्द्रलाई १५ शैय्याको अस्पतालका रूपमा अघि बढाइसकेको गाउँपालिका अध्यक्ष शाहले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार २०:१६