काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले बुधवार आह्वान गरेको आमहड्तालको प्रभाव देशभर परेको छ । हिजो अस्तिको तुलनामा सार्वजनिक गाडी कम चलेका छन् ।
काठमाण्डुसहित मुख्य सहरमा गाडी कम चलेका छन् भने पसल पनि छिटपुट मात्रै खुलेका छन् । उपत्यकाको विभिन्न रुटमा सार्वजनिक सवारी साधन चलेपनि अघिल्ला दिनहरुमा जस्तो धेरै गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ ।
निजी गाडी र मोटरसाइकल पनि कम चलेका छन् । धेरै शिक्षण संस्था बन्द छन् । परीक्षार्थी हिँडेरै परीक्षा केन्द्रमा गएका छन् । हालसम्म सडकमा अवरोध गरेको भनेर प्रहरीले देशभरबाट १५० जना भन्दा बढी प्रदर्शनकारीलाइ पक्राउ गरेकाे जनाएकाे छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयका अनुसार देशभर विभिन्न १० स्थानमा तोडफोडका घटना भएका छन् । काठमाण्डु उपत्यकामा पाँच, सुनसरीमा २ तथा चितवन, इलाम, सिन्धुली र मकवानपुरमा एक एकवटा तोडफोडका घटना भएको प्रहरीले जनाएको छ।
प्रदेश १
प्रदेश १ को विराटनगर, धरानलगायतका ठाउँमा शिक्षण संस्था र यातायातबाहेक अरु क्षेत्रहरु खुलेका छन् । आन्दोलनकर्ताहरु सडकमा केही मात्रामा देखिए पनि विरोध प्रदर्शनहरु धेरै नभएको प्रहरीले जनाएको छ । प्रदेश १ मा केही उद्योग तथा कलकारखानाहरु खुलेका छन् । साथै धरानमा प्रदर्शनकारी र केही मजदूरहरुबीच सामान्य झडप समेत भएको छ ।
प्रदेश २
प्रदेश २ मा पनि कार्यकर्ताहरु विरोधका कार्यक्रमसहित सडकमा देखिएका छैनन् । प्रदेश २ को सर्लाहीमा केही गाडीहरु चलिरहेका छन् भने पसलहरु पनि केही मात्रामा खुलेका छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा प्रचण्ड–नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।
प्रदेश ३
हेटौंडामा प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन गरेका छन् । सडक, विद्यालय, उद्योग कलकारखानाहरु सबै बन्द रहेका छन् । चितवनमा बन्दकर्ताले चारवटा ट्रकमा तोडफोड गरेका छन् ।
धादिङको राजमार्ग क्षेत्रमा गाडी नचले पनि ग्रामिण क्षेत्रमा गाडी चलेका छन् । अरु जिल्लाका पनि ग्रामिण क्षेत्रमा बन्दको प्रभाव परेको छैन ।
काठमाण्डु उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आफैं सडकमा निस्किएका छन् ।
रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् । पूर्वसभामुख एवं स्थायी समिति सदस्य कृष्णबहादुर महरा पनि सातदोबाटोमा देखिएका छन् । साथै सामाखुशीमा एकाबिहानै एक ट्याक्सिमा आगजनी भएको छ ।
प्रदेश ४
गण्डकी प्रदेशको पोखराबाट एकजना बन्दकर्ता पक्राउ परेका छन् । अहिले अवस्था सामान्य रहेको र केही दुई पाङ्ग्रे गाडीहरु मात्र चलेको प्रहरीले जनाएको छ । बन्दकर्ताले पोखराको महेन्द्रपुलमा प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु सहभागी छन् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल र्याली निकालेका छन् जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् ।
प्रदेश ५
लुम्बिनी प्रदेशको बुटवल, कपिलवस्तुलगायतका ठाउँमा बन्दको आंशिक प्रभाव परेको छ । ठाउँठाउँमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता प्रदर्शनमा निस्किएका छन् ।
प्रदेश ६
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि अहिले अवस्था सामान्य छ । सडकमा गाडी कम चलेका छन् । प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता बन्द गराउँदै हिँडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका छन् । सुर्खेतमा पसलहरु बन्द गरिएका छन् । प्रहरीले विभिन्न ठाउँमा डाइभर्सन गराएर लामो दूरीको यातायात सञ्चालन गराइरहेको जनाएको छ ।
प्रदेश ७
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरलगायत जिल्लाको अवस्था पनि अहिले सामान्य नै रहेको छ । राजमार्गमा गाडी चलेका छैनन् भने पसल, उद्योग तथा कलकारखानाहरु पनि खुलेका छैनन् ।
डडेल्धुरामा बन्दको प्रभाव सामान्य रहेको छ । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैदेखि प्रहरीको स्कर्टिङमा गाडी चलेको छ ।
।