सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवाद

प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्ताल, बिहानैदेखि प्रहरीको धरपकड

यातायात, पसल, उद्योग व्यावसाय, र शिक्षण संस्था बन्द

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।

बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।

पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ ।

यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार ०८:२६