सूचनाको शक्ति - The Power Of Information

        

अब ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने

काठमाडौं ।  अब ट्राफिक जरिबाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधवारदेखि ट्राफिक जरिबाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधवार ट्राफिक जरिबाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले आउँदा दिनमा बैंकमा पुगेर जरिबाना तिरि भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाइ दिएपछि ट्राफिकले सूचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उहाँले बताउनुभयो ।

ट्राफिक जरिबाना ई–सेवाबाट भुक्तानी गर्न सकिनेछ । ई–सेवाबाट ट्राफिक जरिबाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।

ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमताअनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने बताएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार १७:१०