सूचनाको शक्ति - The Power Of Information

        

सातौं दिनसम्म सवा लाखभन्दा बढीले लगाए कोरोना खोप

काठमाडौं ।  खोप अभियानको सातौं दिनसम्म सवा लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । देशभरका २ सय १ बुथबाट १ लाख २८ हजार ६ सय ५० जनाले खोप लगाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर लक्षण नदेखिएको जनाएको छ । ज्वरो तथा केही असहज अवस्था आए आराम गर्नुपर्ने जनाउँदै मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले सामान्य लक्षण केही समयपछि आफै हराएर जाने बताए ।

उनका अनुसार यो खोप पनि अरू खोप लगाउँदा जस्तै सामान्य असर देखिन सक्छ । खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, बान्ता आउने आदि हुन सक्छ ।

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार पनि हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर प्रकारका लक्षण देखिएको रिपोर्ट आएको छैन ।

उनले भने, ‘हामीले निगरानी गर्दा खोप लगाएकाहरूमा सामान्य ज्वरो आउने, झमझम जस्तो हुने, बान्ता हुनेलगायत केही लक्षण देखिएका छन् तर गम्भीर भएर अस्पताल नै लानुपरेका घटना अहिलेसम्म छैनन् ।’

मन्त्रालयलका अनुसार खोप लगाएपछिको स्थिति अनुगमन तथा व्यवस्थापन गर्न देशभरि नै विज्ञ चिकित्सकहरू परिचालन गरिएको छ । त्यसै गरी हरेक अस्पतालमा सम्भाव्य घटनाहरूको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरूको व्यवस्थापन गरिएको सहप्रवक्ता डा. अधिकारीले जानकारी गराए ।

माघ १४ गते सुरु गरिएको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवाप्रदायक गरी आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका १० लाख डोज भारत सरकारले नेपाललाई सहयोग गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ११:०२