सूचनाको शक्ति - The Power Of Information

        

अपराध

पूर्वका मानव तस्कर पश्चिमतिर सक्रिय

बाँके । मानव तस्करले नेपालको पूर्वी जिल्लाका किशोरी र महिलालाई बेचबिखनका लागि पश्चिम नेपालगन्ज नाकाको प्रयोग गरेर सीमा पार गराइरहेको खुलेको छ । पूर्वी जिल्ला सोलुखुम्बु, झापा र नुवाकोटका किशोरीलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारेर नेपालगन्ज नाकाबाट भारत लैजान लागेको भेटिएपछि सो खुलासा भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले केही समययता पूर्वी जिल्लाका किशोरीलाई विभिन्न प्रकारका रोजगारीको प्रलोभनमा पारी शङ्कास्पद रूपमा भारत लैजान लागेको अवस्थामा नेपालगन्ज नाकाबाट उद्धार गरिएको बताए । उनले पूर्व मानव तस्करले चोर बाटोका रूपमा नेपालगन्ज नाकालाई प्रयोग गर्न थालेको बताए ।

चार किशोरीलाई सीमा पार गराइरहेको बेला नियन्त्रणमा लिएपछि अहिले यो नाकामा कडा निगरानी बढाइएको प्रहरी प्रवक्ता खडस्काले बताए । प्रहरीले दिएको जानकारी अनुसार खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने प्रलोभनमा सोलुखुम्बु माप्य–दूधकोसीका दुई किशोरीको २३ वर्ष उमेर देखाएर राहदानी बनाई भारत छिराउन खोज्दा यहाँबाट उद्धार गरिएको छ ।

ती किशोरीलाई बेचबिखनका लागि लैजान लागेको अनुसन्धानबाट खुलेको जनाउँदै प्रवक्ता खड्काले भारतबाट विदेश जान सरकारले रोक लगाएको जानकारी नपाएकालाई यो नाकाबाट लैजाने प्रयास गरेको बताए । त्यस्तै नुवाकोट दुप्चेश्वरका दुई किशोरीलाई पनि काठमाडौँमा एक साता राखेर नेपालगन्ज ल्याई भारत लैजाने क्रममा सीमामा सोधपुछ गर्दा शङ्का लागेपछि नियन्त्रणमा लिइएको थियो ।

उनीहरूलाई गाउँकै श्याम तामाङले काठमाडौँ पु¥याएको र काठमाडौँबाट सुनिता तामाङले नेपालगञ्ज ल्याएको किशोरीले प्रहरीलाई बताएकी थिइन् । ती दुवै किशोरीलाई पनि भारतमा बिक्री गर्न लैजान लागेको पाइएपछि प्रहरीले श्याम र सुनितालाई पक्राउ गरी मानव बेचबिखन अपराधमा मुद्दा चलाएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहका कानुनी सल्लाहकार अधिवक्ता सतिश शर्माले नेपालगन्ज नाका मानव बेचबिखनका लागि निरन्तर प्रयोग भइरहेको बताए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ०८:५३