सूचनाको शक्ति - The Power Of Information

        

जापानमा संकटकाल लम्ब्याउने तयारी

काठमाडौं । कोरोनाको महामारी फैलिँदै गएपछि जापानमा संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी भएको छ । महामारी नियन्त्रणमा नआएकाले जापानमा लागू गरिएको संकटकाल फेरि लम्ब्याउनु पर्नेे अधिकारीहरूले जनाएका छन् ।

राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको छ । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गनुभएको थियो ।

संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नुअघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्ने बताइएको छ । अहिले जारी संकटकाल यही हप्ताको अन्त्यमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नुपर्ने भएको हो ।

जापानमा हिजो मात्रै थप १७ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म ५ हजार ८४६ जनाको मृत्यु भैसकेकोछ । एजेन्सी

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १०:५६