सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपतिले दिए म्यान्मारको सेनालाई यस्तो चेतावनी

काठमाडौं । म्यानमारको सेनाविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनले कदम चाल्ने चेतावनी दिएका छन् । सोमबार म्यानमारको सेनाले शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्ट लगायतका नेताहरुलाई हिरासतमा लिएको हो । सेनाले म्यानमारमा एक वर्ष संकटकालको समेत घोषणा गरेको छ ।

म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ । म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । राष्ट्रपति बाइडनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी समेत दिएका हुन् ।

सुरक्षा परिषद्को बैठक बस्दै

अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई ‘भयभीत पार्ने’ भनि व्याख्या गरेका छन् । म्यानमारको सेनाले गरेको कूबारे छलफल गर्न अमेरिकी सुरक्षा परिषद्को बैठक बस्दैछ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपतकालीन बैठक गर्ने योजना गरेको बीबीसीले उल्लेख गरेको छ । युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १०:००