सूचनाको शक्ति - The Power Of Information

        

नेकपाका दुई पक्षबीच झडप

उपप्रधानमन्त्री पोखरेल चढेको गाडी तोडफोड

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल ऊर्जामन्त्री, टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्ट सहभागी रहेको नुवाकोटको एक कार्यक्रममा विभाजित नेकपाका दुई पक्षबीच झडप हुँदा मन्त्रीहरुको गाडीमा ढुंगामुढा प्रहार भएको छ ।

नुवाकोटको बट्टारमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका मन्त्रीहरुमाथि अवरोध तथा कार्यक्रममा ‘डिस्टर्ब’ गरिएको नुवाकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसबारे विस्तृत विवरण आउने क्रममा रहेको सो कार्यालयले बताएको छ । उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले पोखरेलको मोटरमा सामान्य क्षति भएको र एक स्थानीय मोटरमा भने धेरै क्षति पुगेको बताए ।

‘सरकारी अधिकारीलाई निर्देशन दिने बिहानको कार्यक्रम सम्पन्न भएको छ,’ श्रेष्ठले भने, ‘दिउँसो कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।’ कार्यक्रममा सहभागी हुनका लागि पोखरेलसँग उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल पनि नुवाकोट पुगेका छन् ।

पोखरेलको सचिवालयकै अर्का सदस्य प्रभातविक्रम कटवालले उपप्रधानमन्त्री पोखरेल बट्टारमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा केहि व्यक्तिले कालो झन्डा प्रदर्शन र अवरोध गर्ने प्रयास गरेपछि सो घट्ना हुन गएको बताए । सो कार्यक्रममा विभाजित नेकपाका ओली पक्ष र प्रचण्ड–नेपाल समूहका कार्यकर्ताबीच झडप हुँदा मन्त्रीहरुले प्रयोग गरेको एउटा गाडी तोडफोड समेत गरिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १३:४५