सूचनाको शक्ति - The Power Of Information

        

अपाङ्ता भएका ब्यक्तिलाई ‘रेडियो र सिरक’

बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्ता भएका ब्यक्तिलाई रेडियो र सिरक वितरण गरेको छ । गाउँपालिकाले ‘क’ वर्गको अपाङ्ता परिचयपत्र पाएका २९ जनालाई प्रतिब्यक्ति एक सेट रेडियो र एक वटा न्यानो सिरक वितरण गरेको हो । अपाङ्ता भएका ब्यक्तिलाई चिसो सिजनमा न्यानो कपडा सिरक र मनोरन्जन सूचना तथा जानकारीका लागी रेडियो वितरण गरेको थियो ।

गाउँपालिकाभित्र क, ख, ग र घ वर्गको अपाङ्ता परिचयपत्र पाएका ब्यक्तिहरु धेरै भए पनि पहिलो चरणमा शारीरिकरुपले अशक्त ‘क’ वर्गका सबै अपाङ्ता भएका सानो राहत दिएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए । बार्षिक नीति तथा कार्यक्रममा असहाय, गरिब, अशक्तलाई बिभिन्न चरणका सहयोग गर्ने कार्यक्रमम अन्तरगत रेडियो र सिरक वितरण गरेका बताए ।

पालिकाले यसअघि पनि जेष्ठ नागरिकलाई चिसोयाममा सिरकसमेत वितरण गरेको थियो । अपाङ्ता भएका ब्यक्तिलाई पनि सीपमूलक तालिमसमेत दिएको थियो । गाउँपालिकाले सिरक र रेडियो दिएपछि रेडियो सुनेर ज्ञान विज्ञानका कुराहरु तथा सूचना र समाचारहरु सुन्नेर दिन काट्न सजिलो हुने र सिरकले पनि चिसोयाममा राहत मिलेको खप्तडछान्ना–६ का बिरबहादुर खड्काले बताए ।

उनीजस्तै राहत पाएका ब्यक्तिहरु पनि गाउँपालिकाले दिएको सहयोगप्रति खुशी भएका थिए । अपाङ्ता भएका ब्यक्तिहरुलाई राहत सामाग्रीका साथै क्षमता बिकास आयआर्जन र संस्थागत बिकासका लागि पालिकाले काम गरिरहेको कर्मचारीहरुले बताएका छन् । २०० जनाको हाराहारीमा अपाङ्ता भएका ब्यक्ति रहेको खप्तडछान्ना गाउँपालिकामा अपाङ्ता सञ्जालसमेत गठन गरी उनीहरुको हकहित र क्षमता विकासका कामहरु समेत भइरहेको वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर सिंहले बताए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार ०९:१२