सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षदेखि सम्पर्कविहीन बालकको भारतबाट उद्धार

प्रतिकात्मक तस्वीर

बाँके । करिब एक वर्षदेखि सम्पर्कविहीन रहेका रोल्पाका एक बालकलाई भारतबाट उद्धार गरिएको छ । बाँकेका बाल अधिकारकर्मीद्वय सल्मान सल्मानी र ऋतिक शाहीको पहलमा बालकको उद्धार गरिएको हो ।

रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का १५ वर्षीय श्याम विकलाई आफ्नै गाउँका काका पर्नेले भारतको रामपुरको एक घरमा कामदारका रूपमा छाडेका थिए । एक महिना काम गरेपछि ती बालक उक्त घरबाट भाग्न सफल भएका थिए ।

भागेका विक भारतको साहजहापुर प्रहरीको सम्पर्कमा आएपछि विकलाई भारतको उत्तर प्रदेश साहजहाँपुरको राजकीय बालगृहमा राखिएको थियो । एक वर्षदेखि सो बालगृहमै बसिरहेका विकलाई बाँकेका बाल अधिकारकर्मी सल्मानी र शाहीको संयुक्त प्रयासमा उद्धार गरेर घर पठाइएको छ ।

राजकीय बालगृह साहजहाँपुरका कर्मचारी विनोदकुमार वाल्मीकिले नेपालका बाल अधिकारकर्मी सल्मानीलाई ह्वाट्सपमा सम्पर्क गरी बालकको फोटो र ठेगाना पठाएका थिए । फोटो र ठेगाना पाएपछि सल्मानीले बालकको उद्दारका लागि थप प्रक्रिया थालेर एक महिनाको प्रयासपछि बालकलाई उद्धार गरेर नेपालगन्ज ल्याउन सफल भएको उनले बताए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार ०८:३५