सूचनाको शक्ति - The Power Of Information

        

म्यानमारमा ‘सैन्य कू’, नेतृ आङ सान सूकीसहितका नेता गिरफ्तार

एजेन्सी । म्यानमारमा सेनाले नेतृ आङ सान सूकीलाई पक्राउ गरिएको छ ।

सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको पार्टीका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ ।

म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो भने सूकीको पक्राउलाई सैन्य कू को रुपमा हेरिएको छ ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेसँगै सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।

निर्वाचित सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबार बोलाइएकै बेला सूकीलाई पक्राउ गरिएको हो ।

सन् २०११ सम्म सक्रिय सैनिक शासन रहेको म्यानमारमा पछि सूकीले आंशिक प्रजातन्त्र स्वीकार्दै निर्वाचनमा भाग लिनुभएको थियो । नेतृ सूकीलाई सेनाले वर्षौसम्म नजरबन्दमा राखेकामा विश्वभरबाट उहाँको संघर्षको पक्षमा आवाज उठेको थियो ।

तर आफ्नो पार्टी सत्तामा आएछि सैन्य नेतृत्वसँग मिलेर रोहिन्ग्या मुस्लिमहरुमाथि ज्यादती मच्चाएको भन्दै सूकीको विश्वभरबाट आलोचना भएको थियो ।

सूकी पक्राउसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । अरु प्रजातन्त्रवादी नेतालाई पक्राउ गर्नुका साथै राजधानीसहितका मुख्य शहरमा सैनिक तैनाथी बढाइएको छ ।

सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट, अरु नेता, विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि पक्राउ गरिएको छ ।

नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सूकीको पार्टी एनएलडीले ८३ प्रतिशत सिट जितेको थियो । सन् २०११ मा नागरिक प्रशासन लागू भएको भनिए पछिको यो दोस्रो चुनावलाई सुकीको परीक्षणका रुपमा पनि हेरिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार ०८:१६