सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरको आठौ गाउँसभा

जयरामपूर्वामा २५ शैय्याको अस्पताल

बाँके । नरैनापुर गाउँपालिकाको आठौं गाउँसभा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । गाउँसभाले गाउँपालिकामा २५ शैय्याको अस्पताल बनाउने जग्गा छनौट गरेर यथासीघ्र अस्पताल निर्माण कार्य अगाडि बढाउनेसमेत निर्णय गरेको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहको अध्यक्षतामा चार दिनसम्म सञ्चालन भएको गाउँसभाले २५ शैय्याको अस्पताल वडा नम्बर ४ को जयरामपूर्वाको उत्तरमा रहेको ऐलानी जग्गामा स्थानमा अस्पताल बनाउन गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष दिनेश शर्माले गरेको प्रस्ताव गाउँसभाले सर्वसम्मतिले पारित गरेको हो ।

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको अवधारणाअनुसार गाउँपालिकामा अस्पताल बनउनका लागि जग्गा छनौट गरि गाउँसभाले अस्पताल बनाउने निर्णय गरेको हो । केन्द्र सरकारले अस्पताल निर्माण गर्ने निर्णय गरेर यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्न परिपत्र गरेपछि नरैनापुर गाउँपालिकाले जग्गाको खोजी सुरु गरेको थियो ।

यस्तैगरि आठौ गाउँसभाले गाउँपालिकाको वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा इमर्जेन्सी सेवा, आँखा उपचार केन्द्र स्थापना तथा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने निर्णयसमेत गरेको गाँउपालिका अध्यक्ष शाहले बताए । वडा नम्बर २ का वडाध्यक्ष मसुद अहमद शाहले गरेको प्राथमिक स्वास्थ्य चौकी लक्ष्मणपुरमा इमेर्जेन्सी सेवा, आँखा उपचार केन्द्र स्थापना तथा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने प्रस्तावलाई गाउँसभाले सर्वसम्मतिले पास गरेको थियो ।

गाउँसभाले आथिक बर्ष २०७७/०७८ को साउणदेखि पौष मसान्तसम्मको खर्च विवरण सम्बन्धमा समेत छलफल गरेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत महेन्द्रजंग शाहीले बताए । प्रमुख प्रशाशकीय अधिकृत शाहीका अनुसार गाँउसभाले कर्मचारी कल्याण कोषसमेत स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकामा काम गर्दागर्दै सेवा निवृत्त हुने कर्मचारीको अवकासपछि पनि केही सहयोग पुर्याउने उद्देश्य अनुरुप कर्मचारी कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको प्रमुख प्रशाशकीय अधिकृत शाहीले बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतवार ०४:२८