सूचनाको शक्ति - The Power Of Information

        

२५ वर्षमा ६ पटक विवाह !

काठमाडौं । गत वर्षको क्रिसमसमा हलिउड अभिनेत्री पामेला इण्डरसनले छैटौं विवाह गरिन् । ५३ वर्षीया पामेलाले आफ्नै बडिगार्ड डेन हायरस्टसँग २०२० को क्रिसमसमा विवाह गरेकी थिइन् । छैटौं पटक विवाह गरे पनि श्रीमान् भने पाँच वटा मात्र थिए । एक जनासँग उनले दुई पटक विवाह गरिन् ।

उनले यसरी हिसाब गर्दा २५ वर्षको अवधिमा ६ पटक विवाह गरिन् । उनले पहिलो विवाह सन् १९९५ मा गरिरेकी थिइन् । टाँमी लीसँग उनले पहिलो विवाह गरेकी थिइन् । उनीहरूका दुई छोरा छन् । तर, तीन वर्षपछि १९९८ मा सम्बन्धविच्छेद् भयो । त्यसपछि सन् २००६ मा गायक किड राँकसँग दोस्रो विवाह गरिन् । तर, एक वर्षमै उक्त विवाह पनि टुट्न पुग्यो ।

२००७ मा रिक सालोमनसँग तेस्रो विवाह गरिन् । तर, त्यो पनि २००८ मा सम्बन्धविच्छेद् भयो । सन् २०१४ मा पामले रिक सालोमनसँग नै चौथो विवाह अथवा दोस्रो पटक विवाह गरिन् । सन् २०१५ मा फेरि सम्बन्धविच्छेद् भयो । सन् २०२० मा जाँन पीटर्ससँग विवाह गरिन् । तर, त्यो विवाह १२ दिनसम्म मात्र टिक्यो । १२ दिनको दिनमै डिभोर्स भयो ।

त्यसपछि उनले छैटौं विवाह आफ्नै बडिगार्डसँग गत वर्षको क्रिसमसमा गरेकी हुन् । जुन विवाह पनि टुटेको भन्ने खबर अहिलेसम्म आएको छैन । उनको विवाहभन्दा पनि कहिले सम्बन्धविच्छेद् हुन्छ भन्ने कुरा हलिउडमा प्रमुख मानिन्छ । उनी विकीलिक्सका मालिक जुलियन असान्जेसँग निकै नजिक छिन् । जुलियन लण्डनस्थित इक्वाडोरियन दूतावासको शरणमा थिए । त्यही समय उनी पनि सँगै थिइन् ।

सन् २०१० मा स्वीडेनको यात्राको क्रममा जुलियनमाथि बलात्कारको आरोप लागेको थियो । त्यसपछि उनी राजनीतिक शरणका रूपमा दूतावासमा बसेका थिए । विवाहका कारण सधैझैं चर्चामा आइरहने पामेलाले दुई दिनअघि मात्र सामाजिक सञ्जालबाट अलग हुने निर्णय गरेकी थिइन् । उनले ट्वीटर, फेसबुक तथा इन्स्टाग्राममा कुनै पनि पोस्ट नगर्ने घोषणा गरेकी थिइन् । अबदेखि आफू सोसल मिडियाप्रति कुनै इच्छुक नरहेको भन्दै उनले त्यसबाट अलग हुने बताएकी हुन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार १५:४८