सूचनाको शक्ति - The Power Of Information

        

समाचार

व्यक्तिले पास गरेको १७ बिघा जग्गा सरकारको नाममा फिर्ता

बाँके । अनियमित तरिकाले व्यक्तिको नाममा खरिद बिक्री भएको जग्गा पुनः सरकारको नाममा आएको छ । सो घटनापछि बाँकेको खजुरा गाउँपालिका–३ क गाउँका स्थानीय बासिन्दाहरू खुसी भएका छन् । स्थानीय बासिन्दासमेत रहेका वडाध्यक्ष कान्तुराम गौतमलगायत स्थानीयले जग्गा पुनः सरकारको नाममा आएकोमा आफूहरू उत्साहित भएको बताए ।

विगतमा व्यक्तिका नाममा भएको करिब १७ बिघा जग्गा मालपोत कार्यालयले सरकारको नाममा ल्याएको हो । ‘सरकारले गत वर्ष गठन गरेको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी पाँच सदस्यीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरेका हौँ,’ भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा निमित्त प्रमुख अमरराज सेजुवालले भने, ‘विभागबाट पत्र प्राप्त भएपछि निर्णय कार्यान्वयन भएको हो ।’

२०७६ माघ ६ गते जग्गा सरकारको नाममा गर्न निर्देशन आएको हो । विगतमा छवटा कित्ता रहेकोमा हाल सो जग्गामा तीनवटा कित्ता कायम भएका छन् । तत्कालीन पुनर्बास कम्पनीका योजना प्रमुख दिनेशराज शर्मा र निमित्त अञ्चलाधीशबाट जग्गा उपलब्ध गराउने कार्य नियम सङ्गत नरहेको समितिले उल्लेख गरेको छ । आफू निकटका व्यक्तिलाई दिइएको जग्गा व्यक्तिगत नामसारी भएपछि पटक–पटक स्थानीयसँग विवाद भएको थियो ।

पछिल्लो पटक भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको तथ्याङ्कमा दुई फरक कित्ताका १० र सात बिघा गरी १७ बिघा जग्गा विष्णुकुमार थापा र रत्नादेवी थापाका नाममा रहेकोमा सरकारको नाममा ल्याइएको हो । समितिको प्रतिवेदनका आधारमा करमोहनाको जग्गाको विषयमा आवश्यक प्रक्रिया अघि बढाइएको मालपोत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार ०९:३५