सूचनाको शक्ति - The Power Of Information

        

बर्डफ्लुको जोखिम

अझै रोकिएन भारतबाट कुखुराको अवैध व्यापार

फाइल तस्वीर

बाँके । भारतका धेरै ठाउँमा देखिएको बर्डफ्लु भित्रिने अत्यधिक जोखिमका बीच पनि भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने कार्य भने अझै रोकिएको छैन । बर्डफ्लु भित्रिने आशङ् काकै कारण भारतबाट कुखुराको आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएर सीमा नाकामा कडाइ गरिए पनि भारतबाट ल्याइएका कुखुरा दिनदिनै प्रहरीले नियन्त्रणमा लिँदै आएकोले ल्याउने क्रम जारी रहेको पुष्टि भएको छ ।

सोही प्रकारले भित्र्याइएका दुई क्विन्टलभन्दा बढी कुखुरालाई सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गरिएको जनाएको छ । सशस्त्र प्रहरी आउट पोष्ट बढैयाबाट खटिएको गस्ती टोलीले जानकी गाउँपालिका–१ मा भारतबाट भित्र्याउँदै गरेको प्रतिबन्धित दुई क्विन्टलभन्दा बढी बोइलर कुखुरा बरामद गरेको हो । अवैध रूपमा कुखुरा भित्र्याउने व्यक्ति प्रहरीलाई देखेपछि कुखुरा छाडेर भागेको प्रहरीले जनाएको छ ।

जिउँदा बोइलर कुखुरालाई सशस्त्र प्रहरीले पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जलाई बुझाएको छ । कुखुरालाई क्वारेन्टाइन कार्यालयले सम्बन्धित व्यक्तिको रोहवरमा चेक पोष्ट नेपालगञ्जमा रहेको होल्डिङ यार्डस्थित पिटमा नष्ट गरेको छ । बर्डफ्लुकै कारण भारतमा कुखुराको माग र मूल्यमा कमी आएपछि नेपालका व्यापारीले लुकाइछिपाई भित्र्याउने गरको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख भक्त निउरेले जानकारी दिए ।

भारतका विभिन्न सहरमा बर्डफ्लु रोगको सङ्क्रमण देखिकोले नेपालमा पन्छी र पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाइएको भए पनि आयात भने लुकीछिपी जारी नै रहेको प्रमुख निउरेले बताए । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बर्डफ्लु भित्रिने डरले भारतबाट कुखुराको आयातमा प्रतिबन्ध लगाइएको जनाउँदै कुखुरालाई कुनै पनि हालतमा भित्रिन नदिने बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार ०९:३०