काठमाडौं । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा शनिबारको मौसममा पनि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस बाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शनिबार राति प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको छ। अहिले बिहान देशको केही पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ ।
साथै तराईका केही भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन्।
पहाडमा हिमपात तथा तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
।