सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवादः

आज धनगढीमा ‘प्रचण्ड–नेपाल’को शक्ति प्रदर्शन, दुई ठाउँबाट र्‍याली निस्कने

शुक्रबार बेलुका मोटरसाइकल र्‍याली

काठमाडौं ।  नेकपा प्रचण्ड–माधव समूहले आज (शनिबार)सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शक्ति प्रर्दशन गर्दैछ।

शक्ति प्रर्दशनसँगै गरिने जनसभामा सो समूहका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दिउँसो १ बजे धनगढीको खुलामञ्चमा सुरु हुने जनसभा सम्बोधन गर्न अध्यक्ष नेपाल शुक्रबार साँझ नै धनगढी पुगिसकेको र अर्का अध्यक्ष प्रचण्ड आज धनगढी पुग्ने नेकपाका स्थायी समिति सदस्य एवंं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले जानकारी दिए।

रावलका अनुसार दिउँसो १ बजे जनसभा सुरु हुनुअघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट र्‍याली निस्कने छ। इन्चार्ज रावलले प्रर्दशन र भेलाको सम्पूर्ण तयारी पूरा भैसकेको बताए।

उनले भने ‘यति नै संख्या भनेर तोक्न सकिँदैन उत्साहका साथ ठूलो संख्यामा केपी ओलीले चालेको असंवैधानिक कदमको विरोधमा जनताको सहभागिता आजको कार्यक्रममा रहने छ।’

प्रर्दशनलाई लक्षित गरि स्थानीय प्रशासनले पनि सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। प्रचण्ड–नेपाल समूहले जनसभाको पूर्वसन्ध्यामा शुक्रबार बेलुका मोटरसाइकल र्‍याली निकालेको थियो।

यो समूहले शुक्रबार विराटनगरमा जनसभा गरेको थियो । उक्त सभामा पनि अध्यक्षद्वय प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार ०९:०९