सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवादः

नेकपाका दुबै समूहलाई डाक्यो आयोगले, पाँच/पाँच जना प्रतिनिधि पठाउन आग्रह

दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा दाबी

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाएको छ ।

अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन आयोगले दुबै समुहलाई पत्र काटेको छ । छलफल आज ११ बजेबाट सुरु हुने आयोगले जनाएको छ । नेकपाका दुबै समूहबाट छलफलमा पाँच÷पाँच जना पठाउन आयोगले भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र दाहाल–नेपाल गरी दुई वटा समूह क्रियाशील छन ।यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको छैन् ।

आज नेकपाका दुई समूहसँग आयोगले मुख्य गरी दुइटा विषयमाथि छलफल गर्ने तयारी गरेको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हुने आयोगले जनाएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन तय गर्नुभएको छ । तर प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार ०८:५०