बाँके । आगामी वैशाखमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेले निर्वाचनका लागि तयारी सुरु गरिएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि १३८ मतदान स्थलमा ३६५ मतदान केन्द्र राख्ने सिफारिस आयोगमा गरेको छ । जिल्ला निर्वाचन कार्यालयले विगतमा भन्दा बढाएर मतदान केन्द्र र स्थल सिफारिस गरेको छ ।
यसअघिको निर्वाचनमा बाँकेमा १३६ मतदान स्थलमा ३२७ मतदान केन्द्र थिए । कोहलपुरमा मतदान स्थल एकबाट बढाएर तीन पुर्याइएको हो । आयोगले एक हजार मतदाताअनुसार एक निर्वाचन केन्द्र तोक्न निर्देशन दिएअनुसार जिल्ला निर्वाचन कार्यालयले पनि सोहीअनुसारको मतदाताको सङ्ख्याअनुसार मतदान स्थल र केन्द्रका बारेमा सिफरिस गरेको हो । जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीका अनुसार निर्वाचनका लागि दुई लाख ९० हजार ७६९ जना मतदाता हुने अनुमान गरिएको छ ।
उनका अनुसार जिल्लामा निर्वाचनको तयारीका लागि बैठक तथा अन्तरक्रिया सम्पन्न भएका छन् । अद्यावधिक कार्य जारी छ । आयोगका अनुसार मतदाता नामावली सच्याउने तथा दाबी विरोधका लागि माघ १६ देखि १८ गतेसम्म समय छुट्याइएको छ । स्थानीय तहबाट प्राप्त विवरण निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालयले पठाउनेछ । आयोगबाट यसकै आधारमा अन्तिम नामावली प्रकाशन हुनेछ ।
।